७ बैशाख २०८१, शुक्रबार
Follow Us

स्वास्थ्य मन्त्री गगन अर्बका मालिक, भूमिसुधार मन्त्रीको २३ ठाउँमा घरेडी

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७३, बुधबार १४:०९

काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापा वर्तमान मन्त्रिमण्डलका सबैभन्दा धनी मन्त्री हुन् । उनलाई भूमिसुधार मन्त्री विक्रम पाण्डेले पच्छाएका छन् । यी मन्त्रीसँग नगद मौज्याद धेरै देखिएको छैन, तर लगानीको मूल्यांकन गर्ने हो भने दुवै मन्त्री अर्बपति हुन् ।
स्वास्थ्य मन्त्री गगनसँग नगद मौजाद धेरै छैन । उनले जलविद्युत, वित्तीय संस्था, बैंकको सेयर र सरकारको वचतपत्र किनेका छन् । उनको यो लगानी जोड्ने हो भने एक अर्बभन्दा बढी हुन्छ ।
उनीसँग सात ठाउँमा घर घरेडी रहेको छ । काठमाडौंमा दुईवटा र सुनसरीमा एक ठाउँ तथा सोलुखुम्बुको सल्यान गाविसको विभिन्न वडामा जमिन रहेको छ । उनको कूल जमिन जोड्दा सय रोपनीभन्दा बढी हुन आउँछ ।
मन्त्रिपरिषद्को कार्यालयमा राखिएको उनको सम्पत्ति विवरणअनुसार ५५ वटा विभिन्न कम्पनीमा सेयर छ । उनले जलविद्युत र वित्तीय संस्थामा बढी लगानी गरेका छन् । नेपालका ‘क’ श्रेणीका प्रायः सबै बैंकमा उनको सेयर छ भने नाम चलेका प्रायः सबै जलविद्युत् आयोजनामा उनले लगानी गरेका छन् । उनको यो लगानी आफू, पिता महेन्द्रकुमार थापा, आमा रामेश्वरी थापा, पत्नी डा. अन्जना थापा, छोरीहरु जियाना ए थापा र गार्गी ए थापाको नाममा छ । उनको यो कूल सम्पत्ति जोड्ने हो भने एक अर्बभन्दा बढी हुन आउँछ ।
उनीसँग १६ तोला सुन र २ सय तोला चाँदी छ । हिराको गरगहनासमेत उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनको एभरेष्ट बैंकमा खाता छ । त्यहाँ उनको चार हजार रुपैयाँ मात्र जम्मा छ । स्टान्र्डड चाटर र नविल बैंकमा पत्नी डा. अन्जना केसीको नाममा नगद जम्मा गरिएको छ । नविल बैंकमा २० लाख रुपैयाँ छ भने स्टान्र्डडमा १५ हजार रुपैयाँ मात्र छ । उनले यो पैसा स्वआर्जन भनी उल्लेख छ ।
यता भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डे घरघरेडी र सुनचाँदी जोड्न सौखिन देखिएका छन् । आफू र पत्नी पार्वती राई, छोरा वत्सल पाण्डेको नाममा काठमाडौं, चितवन र नवलपरासीमा २३ ठाउँमा घर घरेडीसहित सयौं विघा जमिन रहेको छ ।
उनीसँग सय तोला सुन छ भने दुई केजी चाँदी रहेको छ । उनीसँग १९ वटा निर्माण कम्पनी छ भने १४ वटा कम्पनीमा शेयर लगानी र आफू प्रवद्र्धक बनेका छन् । उनले यी सबै आम्दानी कृषिबाट गरेका हुन् भन्ने उल्लेख छ । रमाइलो चाहिँ के छ भने यति धेरै सम्पत्तिका मालिकको एउटा पनि सवारी साधन रहेनछ ।

सम्माननीय प्रधानमन्त्री तथा माननीय मन्त्रीहरुको सम्पत्ति विवरण