१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बाबुको हत्या आशङ्कामा परिवारै पक्राउ

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७३, बुधबार १४:१४

इटहरी । सुनसरीको बकलौरी–१ का ४८ वर्षीय कृष्णकुमार गौतमको मृत्यु आफ्नै छोराको हातबाट भएको आशङ्कामा प्रहरीले गौतम परिवारका सबै सदस्यलाई पक्राउ गरेको छ ।

सोमबार साँझ गाँजा खाएका दाजुभाइबीच भएको झगडा छुट्याउँदा कान्छा छोरा १८ वर्षीय सन्देश गौतमले २४ वर्षीय दाजु सुवास गौतमलाई प्रहार गरेको खुकुरी बाबु कृष्णकुमारको टाउकामा बज्रन पुगेको थियो ।

टाउकामा धारिलो खुकुरीको प्रहार भएबाट घटनास्थलमै ढलेका बाबु गौतमको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउँदा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

गाउँघर छरछिमेकमा रुखबाट लडेको र घरमा नै लडेको भनेर गरिएको हल्ला झुटो भएको असुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । अनुसन्धानपछि दुवै छोरा र श्रीमती कल्पना गौतमलाई समेत पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ ।

मृतक कृष्णकुमारको आज दाहसंस्कार गरिएको छ । दुवै छोरा र श्रीमती कल्पनालाई समेत अनुसन्धान तथा सोधपुछका लागि इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।