१५ चैत्र २०८०, बिहीबार
Follow Us

कोरोनाबाट नेपालमा थप ७ जनाको मृत्यु, ८९९ संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०७७, सोमबार १२:०३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड– १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३०३ महिला र ५९६ जना पुरुष गरी कुल ८९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ३९ हजार नाघेको छ । आजसम्म ३९ हजार ४६० जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये १७ हजार ८२२ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ७ हजार १२१ जना होम आइसोलेसनमा छन् भने १० हजार ७०१ जना संस्थागत आइसोलेसनमा छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ५८८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २१ हजार ४१० पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ५४ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १२९ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म कुल परीक्षण ६ लाख ५२ हजार ४७२ जना गरिएको मन्त्रालयले जनाइएको छ । देशभर ७ हजार ३३७ जना क्वारेन्टाइनमा छन् ।