१६ चैत्र २०८०, शुक्रबार
Follow Us

फेसबुकबाट जुट्यो रु तीनलाख

नेपालब्रिटेन डट कम्
३० मंसिर २०७३, बिहीबार ०४:३८

बागलुङ । धवलागिरि अञ्चलकै जेठो विद्यामन्दिर पुस्तकालयको संस्थागत विकासका लागि फेसबुकका माध्यमबाट रु तीन लाखभन्दा बढी रकम सङ्कलन भएको छ । तीन महिनाअघि ‘एक व्यक्ति एक हजार’ अभियान चलाएको पुस्तकालयले हालसम्म तीन लाख १० हजार पाँचसय २१ रुपैयाँ उठेको जनाएको छ ।

विसं २००३ सालमा स्थापित पुस्तकालयले सामाजिक सञ्जाल फेसबुकमार्फत अभियानको प्रवद्र्धन गरिरहेको छ । रु १० लाखको संस्थागत विकास कोष खडा गर्न आर्थिक अभियान चलाइएको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताउनुभयो ।

‘एक व्यक्ति एक हजार’ अभियानमा देश–विदेशबाट सयौँ व्यक्ति जोडिनुभएको छ”, अध्यक्ष राजभण्डारीले भन्नुभयो, “कतिपयले स्वेच्छिक रुपमा बढी रकम पनि सहयोग गर्नुभएको छ ।”

अध्यक्ष राजभण्डारीका अनुसार त्यस्तो सहयोग रकम फेसबुकका माध्यमबाट जुट्ने गरेको छ । अभियानका बारेमा पुस्तकालयले फेसबुकमा सूचना÷विवरण राखेपछि पुस्तकालयप्रेमीले स्वतःस्फूर्त रुपमा सहयोग गर्न थालेका थिए । सहयोगदाताको तस्बिर र सहयोग रकम पनि फेसबुकबाटै सार्वजनिक हुने हुँदा अरूलाई समेत प्रेरित गरेको पुस्तकालयका सचिव राम थापा ‘अविरल’ले बताउनुभयो । “न्यूनतम एक हजार दिने सहयोगदातालाई प्रशंसापत्र पनि दिने गरेका छौँ”, सचिव थापाले भन्नुभयो ।

फेसबुकमा अरूले गरेको सहयोग देखेर नै आर्थिक अभियानमा जोडिनेको सङ्ख्या बढेको उहाँको भनाइ छ । सहयोग गर्नेमा वैदेशिक रोजगारमा गएका बागलुङवासी बढी छन् । आउँदो छ महिना भित्रमा अभियानबाट संस्थागत विकास कोषको रकम रु १० लाख पु¥याइने भएको छ ।

कम सहयोग लिने तर धेरै जनाबाट लिने उद्देश्यले ‘एक व्यक्ति एक हजार’ अभियान चलाएको पुस्तकालयले जनाएको छ । प्रविधिको विकास र पाठकको मागलाई दृष्टिगत गरी पुस्तकालयले गत वैशाखदेखि विद्युतीय पुस्तकालय पनि सञ्चालनमा ल्याएको छ ।

“इतिहास बोकेको पुस्तकालय आर्थिक समस्यामा पर्न थालेपछि आर्थिक अभियान सुरु गरेका हौँ”, अध्यक्ष राजभण्डारीले भन्नुभयो । हाल पुस्तकालयमा रु पाँच लाख जतिको अक्षयकोष रहेको छ ।

पुस्तकालय र सँगै सञ्चालनमा रहेको बाल विकास केन्द्र सञ्चालनमा व्यवस्थापनले समस्या झेल्दै आएको छ । पछिल्लो समय पाठकको सङ्ख्यामा समेत ह्रास आउन थालेपछि पुस्तकालयले विभिन्न क्षेत्रबाट सहयोग जुटाएर विद्युतीय पुस्तकालय सञ्चालन गरेको हो । विद्युतीय पुस्तकालय सञ्चालनमा आएपछि विद्यार्थी र पाठकको सङ्ख्या वृद्धि भएको जनाइएको छ ।

पुस्तकालयको आम्दानीले कर्मचारी र अन्य व्यवस्थापन खर्च जुटाउन धौ–धौ परेपछि आन्तरिक कोष बढाउन लागिएको हो । विद्युतीय पुस्तकालय सञ्चालन, व्यवस्थापन र अन्य कार्य गर्न संस्थागत विकास कोषलाई प्रयोगमा ल्याइनेछ । विभिन्न भाषा र विधाका गरी १४ हजारभन्दा बढी पुस्तक पुस्तकालयमा सङ्ग्रहित छन् ।