१३ बैशाख २०८१, बिहीबार
Follow Us

म्याग्दीका तुलबहादुरको नाममा बेलायतमा रेल सेवा

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७७, बिहीबार ०४:५८

लन्डन। बेलायतको एक रेल सेवाले त्यहाँको सर्वोच्च युद्व पदक भिक्टोरिया क्रस बिजेता स्व. तुलबहादुर पुनको सम्मानमा रेल सेवाको नामकरण गर्ने भएको छ। गोर्खा आन्दोलनका महानायकका रूपमा समेत चिनिने म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङका भिसी पुनको बेलायतको पश्चिमी क्षेत्रमा रेलवे सेवा सञ्चालन गर्ने ग्रेट वेस्टर्न रेलवेले सहरहरू जोड्ने एक सेवालाई भिसी तुलबहादुरको नाममा नामकरण गर्ने घोषणा गरेको हो।

दोस्रो विश्वयुद्व समाप्त भएको ७५ वर्ष पुगेको अवसरमा उक्त नामकरण गर्न लागिएको ग्रेट वेष्टर्न रेलवेको घोषणा गरेको बेलायती संचारमाध्यमले जनाएका छन्।

ग्रेट वेष्टर्न रेलवेका बाह्य सन्चार प्रमुख डान पान्सको भनाइ उदृत गर्दै बेलायती सञ्चारमाध्यमले जनाए अनुसार दोस्रो विश्वयुद्व समाप्तिको ७५ वर्ष पुगेको विशेषरूपमा मनाउने क्रममा म्याग्दीमा जन्मिएर दोस्रो विश्वयुद्वमा बेलायतको स्वतन्त्रताको रक्षाका लागि गोर्खा सेनाको महानायकको भूमिका खेलेको भन्दै भिसी पुनको सम्मानमा गरिएको थियो। पुनले भिक्टोरिय क्रस पाउँदा २१ वर्षका थिए। गोरखा सैनिकले हालसम्म १३ वटा भिक्टोरिया क्रस प्राप्त गरेका छन्। गोरखा वेलफेयर ट्रष्टका संरक्षक जोअना लुम्लेले भिसीको जन्मगाउँमै पुगेर बेलायती जनताको हृदयमा सधैं स्थान पाउने एउटा निष्ठावान कमाण्डर, बेलायतीको महानायक भएको घोषणा समेत गरेकी थिइन्।

उता भिसी पुनको नाममा रेलसेवाको नामकरण गरिने खबरले उत्साहित भएको पुनका छोरा अर्जुन तिलिजा पुनले बताए। ‘स्वर्गीय बाबुको सम्मानमा एउटा नयाँ काम हुँदैछ,’ उनले भने, ‘योगदानको उच्च मुल्यांकन भएको महसुस गरेको छु।’ भिसी पुनको अवकासपछि म्याग्दीमा खानेपानी, खेलमैदान, विद्यालय भवनलगायत दर्जनौं योजनामा समेत काम गरेका थिए।

भिसी तुलबहादुरको नाममा बेगखोलामा सडक र पुन भिसी स्मृति रहेको छ। बेगखोलाको बादुरक गाउँमा सन् १९२३ मार्चमा जन्मिएका तुलतबादुर २० वर्षको उमेरमा भर्ती भएका थिए। उनको सन् २०११ अप्रिल २० मा ९० वर्षको उमेरमा निधन भएको थियो।