१३ बैशाख २०८१, बिहीबार
Follow Us

ढकालद्वारा विद्यालयलाई ५ थान कम्प्यूटर प्रदान (फोटो फिचरसहित)

नेपालब्रिटेन डट कम्
३० मंसिर २०७३, बिहीबार ०५:१०

हेटौडा । मकवानपुरको हाँडीखोला–६ मा रहेको महेन्द्र ज्योति उच्च माविलाई मकवानपुर घर भइ हाल बेलायतमा रहँदै आएका समाजसेवी चिरञ्जीवी ढकालले ५ थान कम्प्युटर सहयोग गरेका छन् । हिजो बुधबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी ढकालले कम्प्यूटर हस्तान्तरण गरेका हुन् । मैले केही बर्ष अध्ययन गरेको यस बिद्यालयलाई समयानुकुल प्राविधिक सिकाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले ५ थान कम्प्यूटर सहयोग गरेको हुँ, ढकालले भने, ‘विद्यार्थीलाई कम्प्युटर शिक्षा अध्ययनमा सहयोग पुग्नेछ ।’
ढकालले गत बर्ष बिद्यालयको लागि सोलार सहयोग गरेका थिए । सोलार सहयोगको क्रममा कम्प्यूटरको अभाव देखिएकोले अहिले कम्प्युटर सहयोग गरेको ढकालको भनाइ छ । विदेशमा रहँदा पनि मकवानपुर र विशेषगरी हाँडीखोलाको समस्या समाधानमा सक्दो पहल र सहयोग गरिरहेको बताउँदै उनले आगामी दिनमा सक्दो सहयोग जारी रहने बताए ।
विदेशमा रहेका धेरै नेपालीबाट आएको सहयोग नेपालको विभिन्न स्थानमा दुरुपयोग भएकोमा हामी निकै चिन्तित छौं, सहयोगी ढकालले थपे, अर्काले दिएको सामान त हो नि भनेर वेवास्ता गर्ने गलत प्रवृत्ति विकास हुँदै गएको छ । विदेशमा रहेका हामी नेपालको समस्यामा चिन्तित रहेका छौं । आवश्यक सहयोग पनि गर्न तयार छौं । उनले कम्प्यूटर शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउन र दिइएको सामग्रीको संरक्षण गर्न समेत अनुरोध गरे ।
महेन्द्रज्योति उच्च माविका प्राचार्य गोकुल शर्माले सहयोगीबाट विद्यालयलाई धेरै सघाउ पुगेको बताउँदै ढकालले दिएको कम्प्यूटर समेत गर्दा १२ वटा भएको र छिट्टै कम्प्यूटर शिक्षा पढाई सुरु गर्ने जानकारी दिए । शिक्षक अभिभावक संघका अध्यक्ष अर्जुन पुडासैनीले सहयोग स्वरुप प्राप्त भएको कम्प्यूटरको प्रभावकारी सदुपयोग भएमा मात्र सहयोगको वास्तविक सार्थकता हुने बताए । सहयोगी ढकाललाई विद्यालयले फूलमाला सहित कदरपत्रले सम्मान गरेको विद्यालयका लेखापाल अनन्तप्रकाश अर्यालले जानकारी दिए ।
final-1