७ बैशाख २०८१, शुक्रबार
Follow Us

शक्ति संघर्ष अझै जारी, नेकपाका लागि आज महत्वपूर्ण दिन

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०७७, आईतवार ०३:४५

काठमाडौं । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको तयारी गरेका छन् । तर शुक्रबार प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने जानकारी गराएका थिए । नेकपाको शिर्ष नेतृत्वले मन्त्रिपरिषद् पुनः गठन गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो भनाई आएको थियो । तर मन्त्रिपरिषदमा रहेका आधा जति मन्त्रीलाई बिदाइ गरेर नेकपाले थप व्यक्तिहरुलाई सरकारमा लैजाने तयारी गरिरहेको विशेष स्रोतले तरुणलाई जानकारी दिएको छ

शुक्रबार नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले तत्काल मन्त्रिपरिषद हेरफेर नहुने जानकारी दिँदै मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न निर्देशन दिएका थिए । पुनर्गठित मन्त्रिमण्डलमा सुरेन्द्र पाण्डे वा विष्णु पौडेलमध्ये एक जनालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने सम्भावना छ । राष्ट्रपतिबाट वामदेव गौतमको मनोनयन भयो भने उनलाई तत्काल मन्त्रिमण्डलमा स्थान दिइने छैन ।

तर पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खानाल र नारायणकाजी श्रेष्ठ भने वामदेव गौतमलाई गृहमन्त्री बनाएर प्रधानमन्त्री ओलीलाई सन्तुलनमा राख्न चाहन्छन् । गौतमलाई राष्ट्रिय सभामा लैजान मन्त्रिपरिषले शुक्रबार सिफारिस नगरेकाले पनि उनलाई राष्ट्रिय सभाको सदस्य नबनाउने हो कि भनी शंकाको नजरले हेर्न थालिएको छ ।

गौतमलाई राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनयन गर्न नहुने भन्दै सर्वोच्च अदालतमा मुद्दा पर्ने सम्भावना पनि औंल्याएका छन् । तर उनको मनोनयनको सन्दर्भमा वरिष्ठ वकिलहरुसँग परामर्श गरेको बुझिएको छ ।
तरुणबाट