७ बैशाख २०८१, शुक्रबार
Follow Us

गृहकार्य नगरी संशोधन प्रस्ताव दर्ता गर्दा समस्याः नेता पौडेल

नेपालब्रिटेन डट कम्
३० मंसिर २०७३, बिहीबार ०७:४०

चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहकार्य नगरिकन संविधान संशोधन प्रस्ताव दर्ता भएकाले सबैको चित्त बुझाउन कठिन भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले हडबडमा प्रस्ताव पेस भएकाले एमाले लगायतका दलको चित्त बुझाउन नसकिएको हो भन्नुभयो ।

नेता पौडेलले सामान्य छलफल भए पनि आफू जापान गएका बेला हतारमा प्रस्ताव पेस गर्दा समस्या उत्पन्न भएको बताउनुभयो । सरोकारवाला र अन्य दलहरुसँग राय लिएर सहमतिमा प्रस्ताव दर्ता गर्नुपर्नेमा त्यसो नहुँदा अझै समस्या बाँकी रहेको उहाँले बताउनुभयो ।

एमालेलाई विश्वासमा लिएर मात्रै जानुपर्ने आफ्नो सुरुदेखिको धारणामा कुनै परिवर्तन नभएको भन्दै उहाँले अब भने निकास दिनुपर्ने उल्लेख गर्नुभयो ।

आयोगले स्थानीय निकायको सीमाङ्कन गर्न नसकेकाले पुरानै संरचनामा निर्वाचन गर्ने विषयमा छलफल भइरहेको भन्दै उहाँले स्थानीय निकायमा जनप्रतिनिधि आएपछि सीमाङ्कनमा समेत सहज हुने बताउनुभयो ।

वैज्ञानिक रुपमा सीमाङ्कन हुनुपर्नेमा आयोगले त्यसो गर्न नसकेको उहाँको भनाई थियो । स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा जनताका काम हुन नसकेको भन्दै उहाँले यथासक्य चाँडो यथास्थितिमै भए पनि निर्वाचन गर्नुपर्नेमा जोड दिनु भयो ।

स्थानीय निकायको बजेट दुरुपयोग भएका भन्दै उहाँले जनप्रतिनिधि आएपछि बजेट सदुपयोग हुने बताउनुभयो । अहिलेको उपलब्धिलाई संस्थागत गर्नुपर्ने भन्दै पौडेलले सबै दललाई संविधान कार्यान्वयनको पक्षमा भने एक मत हुन आग्रह गर्नुभयो ।