१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कतार एयरलाइन्सद्वारा राजदूत डा. सुवेदीमाथि लण्डन विमानस्थलमा दुरव्यवहार

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७७, सोमबार ०७:१०

लन्डन । सहकर्मीको विदाइका लागि हिजो आइतवार लन्डनस्थित हित्रो विमानस्थल पुगेका बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी माथि कतार एयरवेजले दुरव्यवहार गरेको छ ।

आफ्नो ४ बर्षको कार्यकाल सकेर नेपाल फर्किन लागेका लन्डनस्थित नेपाली दूतावासका तृतीय सचिव तेजेन्द्र रेग्मीको पिसीआर रिपोटको विषयलाई लिएर राजदूत डा. सुवेदी र कतार एरवेजका कर्मचारीबीच भनाभनसमेत भएको बताएको छ ।

बेलायत सरकारी अस्पतालको ‘कोभिड–१९’ को रिपोटलाई अस्वीकार गर्दै आएको कतार एयरलाइन्सले रेग्मीले लिएर गएको राष्ट्रिय हेल्थ सर्भिस (एनएचएस) को रिपोटलाई अमान्य भन्दै उडानको लागि रोक लगाएपछि विवाद सुरु भएको हो ।

कतार एयरवेजले रेग्मीलगायत एक दर्जन बढी नेपालीलाई सोही रिपोटका आधारमा उडानमा रोक लगाएपछि करिब तीन घन्टासम्म विमानस्थलमा तनाव भएको थियो ।

‘राजदूत सुवेदीले आफू देशकै प्रतिनिधिको रुपमा उपस्थित भएको र लिखित रुपमा समेत सबै यात्रुहरुको जिम्मेवारी लिन तयार भएको भन्दै कतार एयरलाइन्सका कर्मचारीलाई सम्झाउन प्रयास गरेका थिए । तर, राजदूत सुवेदीको भनाइको कुनै सुनुवाइ भएन’ त्यहाँ उपस्थित एकजना यात्रुका आफन्तले नेपाल ब्रिटेन डट कमसँग भने ।

राजदुत डा. सुवेदीले तनावका बीच ३ घन्टा विमास्थलमा समय व्यथित गरेका थिए । उनी रेग्मी परिवारलाई विदाइ गर्न विमानस्थल पुगेका थिए ।

‘आफ्न्तको विदाइमा पुगेका समिर खनालका अनुसार राजदूत सुवेदीले त्यहाँ अलपत्र परेका नेपालीको सुरक्षित उडानको लागि कतार एरवेजलाई पटक पटक सम्झाउने प्रयास गरेका थिए । देशकै राजदूतको समेत आग्रहको कुनै सुनुवाई नहुने रहेछ हामीजस्ता सर्वसाधारणको आवाज कसले सुनिदने’ खनालले भने । उनले आवश्यक परे लिखित रुपमै यात्रुको जिम्मा लिने भन्दै कतार एयरवेजलाई आश्वस्थ पार्ने प्रयास समेत गरेका थिए ।

कतार एयरवेजले काठमाडौंका लागि उडान भर्न लागेका सबै यात्रुहरुलाई काठमाडौं सानेपाको स्टार हस्पिटल मोलिकुलर ल्यावमा परीक्षण गरेको कोभिड–१९ टेष्ट नजिताको फरम्याटमा कोराना भाइरस टेष्ट रिर्पोट देखाउनु पर्ने भन्दै गत सातादेखि नेपाली यात्रुलाई दुःख दिदै आएको छ ।

कतार एरवेजले स्टार हस्पिटलको रिर्पोटमा जस्तै एनएचएसको रिपोर्टमा आरटी पीसीआर (पीसीआर मात्रले नहुने), घाँटी र नाकबाट स्वाव लिएको, ल्याव टेष्टको मिति समय र नतिजा नेगेभिट भन्ने बाक्यांश अनिवार्य देखिनु पर्ने तर्क गर्दै नेपाल सरकारको निर्देशन मान्न बाध्य भएको बताउदै आएको छ ।

यहाँको राष्ट्रिय हेल्थ सर्भिसले दिने पीसीआर रिपोर्ट भने कोभिड–१९ को नजिता नेगेटिभ भएको मात्र उल्लेख गर्ने गरेको छ ।

लण्डनस्थित ट्राभल्स कन्स्लोका प्रमुख विराज भट्टले लण्डन काठमाण्डौंको टर्किस्ट एरवेजको उडानमा भने वेलायतको सरकारी अस्पताल (एनएचएस) द्धारा जारी कोभिड १९ को रिपोटलाई कुनै रोकतोक नगरिएको जानकारी दिए ।

उनले एनएसएसको रिपोट देखाएर यात्रुहरुलाई अन्तिम सम्म रोकेर राख्ने र सिट उपलव्ध भए जान दिने गरेको बताए । कतार एयरवेजको मनोपली हो सुरुमा एनएचएसको रिपोटले हुन्न भन्ने फेरी अन्तिम समय आएर केही यात्रुलाई त्यही रिपोटका आधारमा उडान गर्न दिने कतारी नीति लापरवाहीको चरण नमूना भएको वताए ।