१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘आइरन लेडी’ रेगिना हङकङको नेतृत्वमा आउने

नेपालब्रिटेन डट कम्
१ पुष २०७३, शुक्रबार ०३:०३

हङकङ । हङकङका पूर्व सुरक्षा उपप्रमुख रेगिना आईपीले यहाँका गैर संस्थापन पक्षलाई समेत लिएर अघि बढ्ने अठोटका साथ हङकङको राजनीतिक नेतृत्व सम्हाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

रेगिनाले हङकङ सुरक्षा उपप्रमुखबाट यहाँको प्रजातन्त्र पक्षधर समूहले गरेको जनआन्दोलनपछि आफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।

हङकङका कट्टरपन्थी नेता लिउङ चुन यिङले गत हप्ता सहरको प्रमुख कार्यकारीका लागि निर्वाचन नलड्ने बताएपछि रिक्त उक्त पदमा न्यु पिपुल्स पार्टीका तर्फबाट उहाँले नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गर्नुभएको हो ।

लिउङले हङकङमा बेइजिङविरोधी प्रदर्शन लगायतका राजनीतिक सङ्कटका समय यहाँको नेतृत्व सम्हाल्नुभएको थियो । लिउङको विकल्पमा हङकङका अर्थमन्त्री जोन साङलाई अगाडि सारिए पनि रेगिनाले ‘हङकङको पुनः विजय’ अभियानको घोषणा गर्दै नेतृत्वका लागि दाबी पेस गर्नुभएको हो ।

रेगिना बेइजिङको कठपुतली बन्ने चेतावनी यहाँका प्रतिपक्षी दलले दिएको छ । उहाँलाई प्रतिपक्षीले लिउङजस्तै बेइजिङप्रति वफादार हङकङको प्रजातान्त्रिक आन्दोलनप्रति पूर्वाग्रही व्यक्ति रहेको बताएको छ ।

हार्वरफ्रन्ट कन्भेन्सन सेन्टरमा उम्मेदवारीको घोषणा सभामा पिपुल्स पार्टीका उपप्रमुख लुइस सिंहले रेगिना हङकङको विकासका लागि आवश्यक ‘आइरन लेडी’ भएको बताउनुभयो ।

रेगिनाले राष्ट्रिय सम्प्रभूता, प्रादेशिक अखण्डताका लागि हङकङको संविधानको परिधिमा रहेर गैर संस्थापन पक्षधर समूहलाई समेत लिएर अघि बढ्ने बताउनुभएको छ ।