१५ बैशाख २०८१, शनिबार
Follow Us

बालकको अपहरणपछि हत्या, तीन पक्राउ

नेपालब्रिटेन डट कम्
१ पुष २०७३, शुक्रबार ०३:०७

राजविराज । सप्तरीको हरिपुर गाविसमा आठ वर्षीय बालकको अपहरणपछि हत्या गर्ने तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा हिजो विहीबार आयोजित पत्रकार सम्मेलनमा हत्या भएको २० दिनपछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दिवेश लोहनीले हरिपुर –३ निवासी रामगोविन्द साहका आठ वर्षीय छोरा दुर्गानन्दलाई छिमेकी २७ वर्षीय चूडामणि ठाकुरले मङ्सिर ११ गते खरायो देखाइदिने भन्दै अपहरण गरी आफ्नो घर लगेको प्रहरी अनुसन्धानबाट देखिएको बताउनुभयो ।

ठाकुरले अन्य सहयोगीसहित बालक दुर्गानन्दलाई सोही दिन राति मुख थुनेर हत्या गरी छिमेकी पन्नेलाल साहको शौचालयको सेफ्टी ट्याङ्कीमा फालेको बताइएको छ । अपहरण र हत्या गरेको छ दिनपछि ठाकुरले बालक दुर्गानन्दकी आमा ममतादेवीलाई मोबाइलमा म्यासेज पठाउँदै रु पाँच लाख फिरौती माग गरेको थियो । बालक हराएपछि आमा ममतादेवीले इप्रका कडरबोनामा मङ्सिर १२ गते जाहेरी दिएपछि अनुसन्धानमा जुटेका प्रहरीले कल डिटेल र आधुनिक प्रविधि प्रयोग गरी अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले अपहरण र हत्यामा संलग्न भएको आरोपमा हरिपुर –३ का चूडामणि ठाकुरसहित उनका सहयोगी वडा नं १ का सामबाबु गुप्ता र देउरी गाविस–२ का कपिलदेव दासलाई समेत अपहरण गरी हत्या गरेको आरोपमा नियन्त्रणमा लिएको छ । शव सेफ्टी ट्याङ्कीबाट बरामद गरिएको थियो । कुहिएको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।