१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए विश्व स्वास्थ्य सम्मेलन सुरु

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७७, शुक्रबार १४:३७

अमेरिका । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु भएको छ । भर्चुअल माध्यमबाट शुक्रबारदेखि सुरु भएको उक्त सम्मेलनको पहिलो चरणमा समितिका अध्यक्ष डाः संजिव सापकोटाले स्वास्थ्य हामी सबैको नैर्सगिक अधिकार भएको बताउनुहुँदै, कोरोना महामारीले हामी प्रत्येकलाई स्वास्थ्य पहिले र त्यसपछि मात्रै अरु कुरा क्रमशः आउने सिकाएको बताउनुभयो ।
स्वास्थ्यप्रति सचेत रहनुपर्ने बताउँदै डा सापकोटाले भन्नुभयो, ‘अहिले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, खाडी, लगायत विश्वका विभिन्न मुलुकहरुमा ५ हजारभन्दा बढी डाक्टरहरु कार्यरत छौँ र हजारौँको संख्यामा नर्सहरु हुनुहुन्छ । विश्वमा छरिएका हामी सबै स्वास्थ्यकर्मीहरु एकजुट भएर अगाडी बढ्नुपर्ने आवश्यकता छ ।’

नेपाल बाहिर रहेका ८० लाख नेपालीहरु तथा नेपालभित्रका ३ करोड गरी करिब ४ करोड मानिसहरुको स्वास्थ्य सुरक्षाका सम्बन्धमा सबैले मिलेर अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो । डा सापकोटाले महामारीको यस्तो विषम अवस्थामा विश्व स्वास्थ्य संगठन -डब्लुएचओ_, युनिसेफलगायत विश्व स्वास्थ्य शक्ति एकै ठाउँ उभिएर अघि बढ्नुपर्ने विषयलाई समेत जोड दिनुभएको थियो ।

औपचारिक रुपमा सम्मेलन सुरु हुनुपूर्व आज भएको पूर्व सत्रमा डा सापकोटाले स्वास्थ्यका विभिन्न २४ बुँदाहरु समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सोही बुँदाहरुमा घनीभूत छलफल गरी सम्मेलनको अन्त्यमा घोषणापत्रका रुपमा जारी गरिनेछ ।
डा सापकोटाले प्रस्तुत गर्नुभएको स्वास्थ्य सम्बन्धि कार्यपत्रमा स्वास्थ्यकर्मीको भुमिका, मानसिक स्वास्थ्य, महिला स्वास्थ्यको, युवा स्वास्थ्य लगायत विषयलाई समेटिएको छ । साथै अस्पताल र क्लिनिकमा मात्रै ध्यान दिने होइन पोषिलो खाना र व्यायम लगायतमा समेत ध्यान पुर्याउनुपर्ने सुझावहरु उल्लेख गरिएका छन् ।

डा संजिवले प्रस्तुत गरेको कार्यपत्रमाथि विभिन्न मुलुकमा कार्यरत स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुले आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै नर्वेबाट डा सुरज थापाले कार्यपत्रमा मानसिक स्वास्थ्य लगायत संवेदनशील स्वास्थ्यका विषयहरु समेटिनु उपयुक्त पक्ष भएको बताउनुभयो । कार्यक्रममा बोल्दै अस्ट्रेलियाबाट डा कुश श्रेष्ठले यो विषयमा सरकारको सहभागिता पनि महत्वपूर्ण हुने बताउनुभयो ।

देशबाहिर ठूलो संख्यामा रहेका स्वास्थ्यकर्मीहरुसँग सरकारले समेत हातेमालो गरेर अगाडी बढ्नुपर्ने उहाँको भनाई थियो ।
युकेमा कार्यरत नर्स प्रसुना कडेलले आफूले विदेशमा सिकेको ज्ञान नेपालमा बाँड्न सक्ने बताउनुभयो ।

एनआरएनए कतारका सचिव आरके शर्माले सबैभन्दा ठूलो संख्यामा नेपालीहरु रहेका मध्यपूर्वी खाडी मुलुकहरुमा स्वास्थ्य सचेतनाका कार्यक्रम आवश्यक रहेको विषयमा जोड दिनुभयो ।
सचेतनाको अभावका कारण यी मुलुकहरुमा ठूलो संख्यामा नेपालीहरुले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाई थियो ।
कार्यक्रममा विभिन्न मुलुकमा कार्यरत ३० भन्दा बढी स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको सहभागी थियो । सहभागी स्वास्थ्यकर्मीहरुले घोषणा पत्रमा नर्सको भूमिका लगायत केही आवश्यक विषयहरु समेट्न सके उचित हुने सुझाव प्रस्तुत गरेका थिए ।

त्यस्तै डा सरिता पाण्डे, भुपेन्द्र बस्नेत, नर्स मन्जु संग्रैला, लगायतले कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
शुक्रबार प्रस्तुत कार्यपत्रमाथि ३ दिनसम्म बहस चल्नेछ । शुक्रबारदेखि सुरु भएको दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आइतबारसम्म चल्नेछ । सम्मेलनको औपचारिक उद्घाटन भने शनिबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले डा सापकोटाले जानकारी दिनुभयो । अन्तिम दिन २० सेप्टेम्बर आइतबार सम्मेलनको घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न हुनेछ ।