१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोना नियन्त्रणमा उत्साहपूर्ण काम भइरहेको छ : प्रधानमन्त्री ओली

नेपालब्रिटेन संवाददाता
३ आश्विन २०७७, शनिबार ०५:३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा उत्साहपूर्ण काम भइरहेको दाबी गरेका छन् । छैटौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा भएपनि सरकारले चालेको कदम उराठलाग्दो नभएको बताए । कोरोनाका कारण अन्य मुलुकको आर्थिक अवस्था चौपट भए पनि नेपालमा त्यस्तो अवस्था नरहेको र असर पनि नपरेको दाबी समेत प्रधानमन्त्री ओलीको छ ।

कोरोना महामारीका कारण सरकारले गौरवका आयोजनाहरु पूरा गर्न नसकेको उनको भनाइ छ । उनले उपभोगीय वस्तुको पर्याप्त मौज्दात रहेको, मूल्यवृद्धि नियन्त्रणमै रहेको र व्यापार घाटा नबढेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण हुनुपूर्व नेपालमा स्वास्थ्य क्षेत्रको पूर्वाधार कमजोर रहेको उल्लेख गर्दै अहिले त्यसमा उल्लेख्य वृद्धि र सुधार गरिएको बताए ।

कोरोना परीक्षणका लागि देशभर ४८ ठाँउमा पीसीआर प्रयोगशाला स्थापना भएको, दुई हजार रुपैयाँमा परीक्षण लगायतका सुविधा उपलब्ध गराएको समेत दाबी गरे । कुल जनसंख्याको दुई प्रतिशतको कोरोना जाँच गर्ने सरकारको लक्ष्य पूरा हुन लागेको पनि उनको भनाइ थियो ।