१२ बैशाख २०८१, बुधबार
Follow Us

नेकपा सचिवालय बैठक : मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०७७, आईतवार ०७:५९

काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक अहिले बसिरहेको छ । पार्टी एकताको २८ महिनापछि तत्कालीन माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा पहिलोपटक नेकपाको सचिवालय बैठक बसेको हो ।

आज(आइतबार) ११:३० मा सुरु भएको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिका सम्बन्धमा सुझाव र सांगठनिक एकीकरणको बाँकी काम छलफलका एजेण्डा छन् ।

भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले गरेका निर्णयलाई आधार बनाएर सचिवालयमा छलफल हुँदैछ । स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकीकरणका बाँकी काम टुंग्याउने, सरकारको काम प्रभावकारी बनाउन केन्द्र र प्रदेश मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय पनि गरेको थियो ।

मन्त्रिपरिषद पुनर्गठन र राजनीतिक नियुक्तिका लागि योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने रूपमा कार्यान्वयन गर्ने पनि बैठकको निर्णय थियो ।