६ बैशाख २०८१, बिहीबार
Follow Us

चन्द्रप्रकाश बानियाको ‘महारानी’लाई मदन पुरस्कार

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०७७, आईतवार ११:३१

काठमाडौं । आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले शान्ति ठटाललाई २०७६ सालको जगदम्बा–श्री प्रदान गर्ने निर्णय गरेको छ । सोही बैठकले चन्द्रप्रकाश बानियालाई ‘महारानी’लाई मदन पुरस्कार २०७६ प्रदान गर्ने निर्णय गरेको छ ।

बिगत छ दशकदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा समर्पित रही गीत–सङ्गीत क्षेत्रको उन्नयनमा विशिष्ट योगदान पु-याएकाले ठटाललाई जगदम्बा श्री प्रदान गर्न लागिएको जनाएको छ ।

गुठीमा प्राप्त १५१ पुस्तकहरू मध्येबाट सात पुस्तकहरू क्रमशः जोकरको बन्दुक (विमल निभा), धर्सैधर्साको चक्रव्यूह (तीर्थ श्रेष्ठ), परित्यक्ता (भुवन ढुङ्गाना), महारसनिघण्टु (खण्ड १(३) (योगी धर्ममहारस), महारानी (चन्द्रप्रकाश बानियाँ), मोहपथ (ललित बिष्ट) र यात्रामा (शारदा शर्मा) ‘मदन पुरस्कार सूची २०७६’का रूपमा छनौट भएका थिए ।

वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई मदन पुरस्कार अर्पण गरेको थियो ।