७ बैशाख २०८१, शुक्रबार
Follow Us

थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०७७, आईतवार ११:३६

काठमाडौँ । देशभरमा पछिल्लो २४ घण्टामा १३२५ जना कोरोना सङ्क्रमित थपिएका छन् । आज थपिएका सँगै कुल सङ्क्रमितको सङ्ख्या ६४ हजार १२२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९ हजार ५८४ जनाको नमूना परीक्षण गरिएको बताए । योसँगै हालसम्म नेपालमा ९ लाख १४ हजार २९० नमूना परीक्षण भइसकेको छ ।

उनका अनुसार हाल देशभरमा सक्रिय सङ्क्रमितको संख्या १७ हजार ४७८ रहेको छ । आज विभिन्न जिल्लामा गरी ९६६ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ४६ हजार २३३ छ । हाल निको हुने प्रतिशत ७२ रहेको छ । त्यस्तै क्वारेन्टिनमा रहनेको सङ्ख्या ७ हजार ४५१ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या ४११ पुगेको छ ।

उपत्यकामा थपिए ७६७ जना संक्रमित, ६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ती मध्ये काठमाडौँका ६०२, ललितपुरका ६४ तथा भक्तपुरका १०१ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । त्यसैगरी पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा १ पुरुष र ५ महिला रहेका छन् । प्रवक्ता डा गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौँका ४, भक्तपुरका १ र ललितपुरका १ जना रहेका छन् ।