८ बैशाख २०८१, शनिबार
Follow Us

नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड तय गरिने

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०७७, सोमबार ०४:५२

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठक आज पनि बस्दै छ । सचिवालयको बैठक आज दिउँसो एक बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । आजको बैठकले मन्त्रीमण्डल पुनर्गठन सम्वन्धी मापदण्ड तय गर्ने बताइएको छ ।

प्रधानमन्त्री बाहेक सबै मन्त्रीलाई राजीनामा गर्न लगाउने र सबै नयाँ राख्ने, सबैलाई राजीनामा गराउने अनि राम्रो काम गरेका केहीलाई पुनर्गठनमा दोहोर्‍याएर बाँकी नयाँ ल्याउने विकल्पमा नेकपाले छलफल गरिरहेको छ ।

त्यस्तै दुई वर्ष मन्त्री भइसकेकाहरूलाई हटाएर नयाँलाई राख्ने र कार्यसम्पादनका आधारमा मन्त्रीहरू हेरफेर गर्ने चारवटा प्रस्तावमा सचिवालयमा हिजोदेखि छलफल भैरहेको छ ।

बैठकमा संवैधानिक आयोगका पदाधिकारी चयनका विषयमा पनि छलफल हुने बताइएको छ । बैठकमा सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने, पार्टी संगठन विभागको निर्णयमा छलफल र अनुमोदनको प्रस्ताव, स्थायी र केन्द्रीय कमिटीको रिक्त रहेको सदस्यहरूको पदपूर्ति र कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा, केद्रीय कमिटी सदस्यहरूलाई नियमित रूपमा आर्थिक सहयोग गर्नेलगायत विषयमा पनि छलफल हुनेछ ।