१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वामदेव गौतमविरुद्ध सर्वोच्चमा रिट दायर

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०७७, सोमबार १०:३६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयन बदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उत्प्रेषण तथा परमादेश लगायत अन्य उपयुक्त आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् ।

रिटको सुनुवाई बुधबार हुने सर्वोच्चले जानकारी दिएको निवेदक त्रिपाठीले जानकारी दिए । त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल कम्युनिस्ट पार्टी कार्यालय र वामदेव गौतमलाई विपक्षी बनाएर सोमबार निवेदन दर्ता गरेका हुन् ।

निवेदनमा गौतमलाई मनोनयनका लागि मन्त्रिपरिषदले गरेको सिफारिस नै बदनियतपूर्ण एवं दुरासयपूर्ण हुनुका साथै संबिधान विपरित रहेको दावी गरिएको छ ।

रिट निवेदकले निवेदनको टुंगो नलागेसम्म गौतमलाई राष्ट्रिय सभाको हैसियतले कुनै कार्य नगराउन र निजलाई मन्त्रिमण्डलमा समेत सामेल नगराउन सर्वोच्च अदालतको नियमावली बमोजिम अन्तरिम आदेश समेत जारी गर्न माग गरेका छन् ।