१३ बैशाख २०८१, बिहीबार
Follow Us

पर्यटन मन्त्री योगेश भट्टराईले एनआरएनए क्षेत्रीय सम्मेलनको उद्धघाटन गर्ने, शिक्षामन्त्री विज्ञ सम्मेलनमा सहभागी हुने

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७७, सोमबार १४:५०

लण्डन । पर्यटन मन्त्री योगेश भट्टराईले एनआरएनएको १३ औं युरोपियन बैठकको उद्धघाटन गर्ने भएका छन् ।

गैर आवासीय नेपाली संघको युरोप संयोजक नारायण आचार्यका अनुसार अक्टोबर ३ र ४ तारिख हुने उक्त सम्मेलनको मन्त्री भट्टराईले उद्धघाटन गर्ने भएका हुन् । आचार्यका अनुसार विज्ञ सम्मेलनमा शिक्षामन्त्री गिरीराज मणी पोखरेल सहभागी हुने भएका छन् ।

अघिल्ला बर्षहरुमा भौतिक उपस्थिति र भव्य जमघटका बीच गर्दै आइएका यस्ता क्षेत्रीय सम्मेलन, भेला र बैठकहरु यसबर्ष भने कोरोना भाइरसको महामारीका कारण भर्चुअल रूपमा आयोजना हुन लागेको हो ।

सम्मेलनलाई नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काले समेत सम्वोधन गर्ने बताएको छ ।

सम्मेलनलाई सफल र फलदायी बनाउन तयारीहरु तीब्र बनाइएको र युरोप क्षेत्रको बैठक तथा सम्मेलन भव्य हुने अपेक्षा गरिएको आचार्यले जनाए ।

१३ औं युरोप क्षेत्रिय सम्मेलन तथा दोश्रो विज्ञ सम्मेलनमा गैरआवासीय नेपाली संघका पदाधिकारीहरु, पूर्वअध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञहरु, नेपाल सरकारका मन्त्री, गैरआवासीय नेपाली संघका अभियन्ताहरु, नेपालको व्यवसायीक क्षेत्रका प्रतिनिधिहरुलगायतको उपस्थिति रहने क्षेत्रीय उपसंयोजक कृष्ण तिमल्सिनाले जनाए । ।

सम्मेलनमा गैरआवासीय नेपालीको नागरिकताको बारेमा, नेपालको संसदीय र स्थानीय चुनावमा गैरआवासीय नेपालीको मतदान अधिकारका बारेमा तथा नेपालको स्वास्थ्य, कृषि, पर्यावरण, भौतिक पूर्वाधार, प्रकृति संरक्षण लगायतका बारेमा गैरआवासीय नेपाली विज्ञहरुको प्रस्तुति रहनेछ ।

त्यसैगरी विज्ञ सम्मेलनका लागि ५ वटा सेसन रहेको र त्यसमा कृषि विज्ञान, स्वास्थ्य तथा औषधि विज्ञान (कोभिड १९ समेत), उर्जा र वातावरण, पूर्वाधार विकास एवं निमार्ण सम्बन्धी र प्रकृति विज्ञान विषय सम्बन्धी प्रस्तुति रहने एनआरएनए आइसीसी सदस्य नर्वे तथा विज्ञ सम्मेलनका कार्यक्रम संयोजक राजु अर्यालले जानकारी दिएका छन् ।