४ बैशाख २०८१, मंगलवार
Follow Us

९० प्रतिशत बलात्कारका मुद्दा ‘फेक’: सांसद

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७७, मंगलवार ०४:२४

बलात्कारका घटना बढिरहेको बेला एक सांसदले यसलाई झन् प्रोत्साहन गर्नेगरी अभिव्यक्ति दिएपछि त्यसको सर्वत्र आलोचना भएको छ। सांसद तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा बलात्कारका अधिकतर मुद्दा ‘फेक’ हुने गरेको अभिव्यक्ति दिएका हुन्।

तर, नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार गत साउन र भदौमा मात्र ४ सय २० वटा बलात्कारका मुद्दा दर्ता भएका छन्। घटना बढिरहेको बेला सांसद विडारीले टेलिभिजनमा दिएको अभिव्यक्तिमाथि पूर्वप्रधानमन्त्री र मानव अधिकारकर्मी, महिला अधिकारकर्मीलगायतले विरोध गरेका छन्। सांसदले नै बलात्कारजस्तो जघन्य अपराधलाई हल्का बनाउने गरी बोलेको विषयबारे सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ। अन्तर्वार्ताका क्रममा विडारीले पछिल्लो समय उमेर पुगेर र सहमतिबाट भएका शारीरिक सम्बन्धलाई पनि बलात्कारमा परिणत गर्न थालिएको बताएका छन्। उनले भनेका छन्, ‘सहमतिमा इन्जोय गर्ने र कुरा नमिलेपछि मुद्दा लगाइदिने गरेका छन्, ९० प्रतिशत बलात्कार मुद्दा सही होइनन्, त्यो मुद्दा मैले हेर्दिनँ, अहिलेको कानुनले बलात्कार वा डिभोर्सपछि सम्पत्ति दिनुपर्ने व्यवस्था गरेको छ, त्यसकारण पनि सहमतिको शारीरिक सम्बन्ध बलात्कार हुने गरेको छ।’

उनले दिएको अभिव्यक्ति सामाजिक सञ्जाल ट्विटरमा भाइरल भएको छ। उनको उक्त भिडियोमाथि मानव अधिकारकर्मीले विरोध तथा टिप्पणी गरेका छन्। महिला तथा मानव अधिकारकर्मी मोहना अन्सारीले ट्विटरमा लेखेकी छन्, ‘आज शिर निहुरियो, आज नेपालमा किन बलात्कार बढ्दै छ ? सायद यो भिडियो अन्तर्वार्ताको अंश होला तर एक सासंदको भनाइले समाजमा अपराध गर्ने र उक्साउनेको मनोबल कसरी बढाउँछ त्यसको ज्वलन्त प्रतिबिम्ब हो यो।’

बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका र विपन्न बढी छन्। प्रहरी तथ्यांकअनुसार आफन्त, बिरामी, अपांगता भएका, दुधे शिशु, गर्भवतीदेखि वृद्ध उमेरसम्मका महिला बलात्कारको सिकार हुने गरेका छन्।

उक्त भिडियो पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि सेयर गरेका छन्। उनले सांसदको यस्तो भनाइप्रति चर्को टिप्पणी गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘राष्ट्रिय सभालाई यस्ता निर्लज्ज व्यक्ति र चुनाव हारेकाहरूले भरेर कसरी रसातलतिर पु-याइँदै छ भन्ने अर्को उदाहरण हो यो, पत्नीसँग पनि इच्छाविपरीत यौनकर्म गर्नु बलात्कार हुन्छ भन्ने यी वकिल महोदयलाई थाहा नहोला र ? बरु ९० प्रतिशत बलात्कार आरोप सत्य र १० प्रतिशत झुटो पो होला त ?’

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार गत आव २०७६÷७७ मा २ हजार १ सय ४४ वटा बलात्कारका मुद्दा दर्ता भएका थिए। यो वर्ष सुरु भएयता देशभर साउनमा मात्र २ सय ६० वटा बलात्कारका मुद्दा दर्ता भएका छन्। पछिल्लो तथ्यांकलाई हेर्दा साउनमा सबैभन्दा बढी बलात्कारका घटना भएको प्रहरीको भनाइ छ। नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले अधिकतर घटना परिचित र आफन्तबाट हुने गरेको बताए। उनले भने, ‘धेरै घटना ‘क्लोज रिलेसन्सिप’ बाटै भएका छन्, आफ्नैलाई बलात्कार गर्दा घटना बाहिर जाँदैन भन्ने मनसाय पनि राखेको देखिन्छ, कतिपयले धम्की दिएर पनि बलात्कार गरेका छन्।’ उनका अनुसार बलात्कारका घटना बढ्न थालेपछि नेपाल प्रहरीले केही समयअघि यसको अनुसन्धान पनि गरेको थियो। जसमा सामाजिक सञ्जालको दुरुपयोग र अश्लील भिडियो सामग्रीले बालमनोविज्ञानमा असर पारेको छ। कतिपय पीडक पनि यसबाटै प्रभावित हुने गरेका छन्।

बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका र विपन्न बढी छन्। प्रहरी तथ्यांकअनुसार आफन्त, बिरामी, अपांगता भएका, दुधे शिशु, गर्भवतीदेखि वृद्ध उमेरसम्मका महिला बलात्कारको सिकार हुने गरेका छन्। नेपाल प्रहरीको समग्र तथ्यांक हेर्दा बलात्कारको सिकार हुनेमध्ये सबैभन्दा धेरै पीडित कम उमेरका छन्। १५ वर्षमुनिका ६० प्रतिशत यो अपराधको सिकार हुने गरेको पाइएको छ। त्यस्तै ११ देखि १५ वर्षबीचका पीडित सबैभन्दा धेरै छन्। गत आवमा यो उमेर समूहभित्रका ७ सयभन्दा बढी व्यक्ति पीडित रहेको प्रहरी तथ्यांकमा उल्लेख छ।

प्रहरीले तयार पारेको ग्राफिक्समा सुन्दै अचम्म लाग्ने बलात्कारका घटना समावेश छन्। कतिपय ६ महिनासम्मका शिशुसमेत यसको सिकार भएको प्रहरी तथ्यांकले देखाउँछ। त्यस्तै, ७५ वर्षसम्मका वृद्धसमेत यस्तो घिनलाग्दो अपराधको सिकार भइरहेका छन्।

लकडाउनको समयमा झन् बढ्यो

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेयता अन्य अपराधमा कमी भए पनि केही अपराध भने रोकिएनन्। आत्महत्या गर्नेको संख्या र बलात्कृत हुनेको संख्या यो अवधिमा ह्वात्तै बढेको छ। चैत ११ गतेयता देशभर हरेक दिन कम्तीमा पनि २ वटाका दरले बलात्कारका घटना भएका छन्। अझ सबैभन्दा धेरै उपत्यका र प्रदेश ५ मा बलात्कारका घटना भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार चैतदेखि साउन मसान्तसम्म प्रदेश–५ मा सबैभन्दा धेरै ९० भन्दा बढी मुद्दा दर्ता भएका छन् भने उपत्यकामा ८७ वटा मुद्दा दर्ता भएका छन्। यसबाहेक उपत्यकामा १२ वटा बालयौन दूराचारका घटना भएका छन्।