१५ चैत्र २०८०, बिहीबार
Follow Us

कांग्रेस अधिवेशन सर्ने, असोज १९ गते केन्द्रीय समिति बैठक

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७७, मंगलवार ०४:२९

नेपाली कांग्रेसले १४औं महाधिवेशनको नयाँ मिति तय गर्न असोज १९ गते केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकले १४औं महाधिवेशनको कार्यतालिका संशोधनसहित नयाँ मिति तोक्ने भएको हो।

गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने भनिएको महाधिवेशन सो समयमा नहुने निश्चित भएको छ। गत फागुनदेखि विधानले दिएको अतिरिक्त एक वर्ष कार्यकाल बढाउन पाउने सुविधा कांग्रेसले प्रयोग गर्दै आएको छ। विधानको अतिरिक्त सुविधा प्रयोग गरेर पनि ५ वर्षभित्र महाधिवेशन गर्न नसकेपछि अब कांग्रेसले संवैधानिक व्यवस्था अनुसारको थप ६ महिना समय लिन सक्नेछ। त्यसअनुसार उसले अर्को भदौसम्ममा महाधिवेशन गर्नेगरी नयाँ कार्यतालिकासहित नयाँ मिति ल्याउन सक्नेछ। तर पार्टीका शीर्ष नेताहरूले संविधानको व्यवस्थाअनुसार अन्तिम समयमा महाधिवेशनको मिति सार्न नहुने धारणा राख्दै आएका छन्। कतिपयले संवैधानिक व्यवस्थालाई सम्बोधन गर्न सकिए पनि पार्टीसामु नैतिक प्रश्न खडा हुने भन्दै वैशाख वा जेठभन्दा टाढा महाधिवेशन धकेल्न नहुने तर्क गर्दै आएका छन्।

कोरोना भाइरसको बढ्दो संक्रमणले आगामी जेठसम्म पनि पुरानै कार्यशैलीबाट महाधिवेशन गर्नसक्ने अवस्था नभएको भन्दै महाधिवेशनलाई विकेन्द्रित गर्नुपर्ने धारणा कांग्रेस नेताहरूको छ। कोरोना भाइरस संक्रमणको समयलाई शून्य समय मान्ने हो भने महाधिवेशन गर्नका लागि थप ५ महिना समय लिन सकिने तर्क पनि कांग्रेसभित्र छ। तर महाधिवेशन कहिले गर्ने भन्नेमा नेताहरू अझै एकमत देखिएका छैनन्।

पटकपटक महाधिवेशनको मिति सार्दा राम्रो सन्देश नजाने बताउँदै एक पदाधिकारीले भने, ‘अहिलेको अवस्थामा भदौभन्दा पहिला महाधिवेशन सम्भव छैन ।’ अहिले वैशाख वा जेठमा भनेर फेरि मिति सार्नु राम्रो नहुने भन्दै उनले थपे, ‘कोरोना संक्रमण अहिले जस्तै भइराख्यो भने पनि भदौसम्ममा कसरी महाधिवेशन सम्पन्न गर्ने भन्ने विकल्पसहित नयाँ मिति तोक्नुपर्छ।’

विधानअनुसार वर्तमान केन्द्रीय समितिको ४ वर्षको कार्यकाल गत फागुनमै सकिएको छ । विधानको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल थप गर्दै १४औं महाधिवेशन फागुन ७ देखि गर्ने भनी गत माघ १३ गते बसेको केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो। सो बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरे पनि आन्तरिक विवाद र कोरोना महामारीका कारण पटकपटक प्रभावित हुँदै आएको छ। जसले गर्दा गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै सकिएको छैन। क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम एक महिनाअघि सक्नुपर्ने कांग्रेसले अहिलेसम्म कतिपय जिल्लामा फारमसम्म पठाएको छैन भने सदस्यता छानविनका लागि अहिलेसम्म समिति गठन गर्न सकेको छैन।

यसैबीच कांग्रेस नेता रामचन्द्र पौडेलले भने फागुनमै महाधिवेशन गर्नुपर्ने बताएका छन्। पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै पाँच महिनामा महाधिवेशनका लागि तयारी गर्न सकिने दाबी गरेका छन्। ‘बाँकी रहेको पाँच महिना अवधिलाई सदुपयोग गरी समयमा महाधिवेशन सम्पन्न गरौं भन्ने हो,’ पौडेलले विज्ञप्तिमा भनेका छन्, ‘त्यो पनि नगरेर अधिवेशन टार्ने, नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भए पनि पार्टी बचाउन सकिन्छ।’

वर्तमान नेतृत्वको नियत हेर्दा महाधिवेशन नै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोसिस भइरहेको आरोप लगाउँदै पौडेलले भनेका छन्, ‘कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि समायोजनको काम सकिएको छैन। समायोजन नै नभएपछि क्रियाशील सदस्यता नवीकरण र वितरण त्यसै रोकिएर बस्ने भयो र अधिवेशन नै अन्योलमा पर्ने स्थिति पैदा भयो।’