१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माण गर्ने प्रकृया सुरु (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७७, मंगलवार ०४:४१

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माण हुने भएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले सोमबार सामाजिक सञ्जालमा विमानस्थलको दोस्रो टर्मिनलमा बन्ने भवनको डिजाइनका विभिन्न फोटो शेयर गर्दै काम अघि बढेको जानकारी गराएका हुन् ।

दोश्रो टर्मिनल भवन हाल बनेको भवनको पश्चिम छेउ बन्ने जनाइएको छ । भवन बनाउने स्थानको माटो परीक्षणको काम समेत भएको जनाइएको छ । विमानस्थलको दोस्रो भवन बनाउने विषयमा सम्पुर्ण कामहरु मन्त्रालयबाट भइरहेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । ‘बजेट लगायतका सबै विषयमा मन्त्रालयबाट काम भइरहेको छ’ अधिकारीले भने । भवन निर्माणको लागि एशियाली विकास बैंकसँग कुरा भइरहेको उनले बताए ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । विमानस्थलमा उपकरण जडान र फिनिसिङलगायत केही प्राविधिक काम मात्रै बाँकी छन् । विमानस्थलको भौतिक प्रगति ९३ प्रतिशत सकिएकोे छ ।

विमानस्थलका लागी आवश्यक अधिकांश उपकरण आइसकेको छ । अन्तर्राष्ट्रिय उडान सहज भएसंगै विदेशबाट जनशक्ति आएर बाँकी काम सम्पन्न हुने अधिकारीले बताए ।

२०७१ माघमा शिलान्यास भएको विमानस्थल २०७४ पुस मसान्त भित्र पुरा गर्नुपर्ने भए पनि विभिन्न अवरोधका कारण हुन सकेको छैन । नर्थ वेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।