१३ बैशाख २०८१, बिहीबार
Follow Us

अधुरो रहेका कामहरु पूरा गर्न प्रतिबद्ध छौ : पुनम गुरुङ, अध्यक्ष, एनआरएन युके

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७७, मंगलवार २२:११

बेलायतवासी नेपालीहरुको प्रतिनिधी तथा अभिभावक संस्थाको रुपमा रहेको गैरआवासीय नेपाली संघ बेलायतको अध्यक्षका रुपमा मैले शपथ लिएको आज ठीक एक वर्ष पुगेको छ ।

यो गौरवशाली संस्था स्थापनाको एक दशक भन्दा लामो अवधिमा पहिलोपटक महिला अध्यक्षका रुपमा निर्वाचित हुन पाउनु मेरो लागि ठूलो खुशी र अवसर मात्र थिएन, बेलायतबासी सम्पूर्ण नेपाली बुवाआमा, दिदीबहिनी एवम् दाजुभाइले ममाथि गर्नुभएको आशा र भरोसाअनुरुप काम गरेर देखाउनुपर्ने चुनौती पनि थियो ।

मैले नेतृत्व गरिरहेको यो कार्यसमितिलाई आफ्नो जिम्मेवारी पूरा गर्नका लागि प्राप्त २ वर्षे कार्यकालको आधा समय अब सकिएको छ । हुन त बितेको एक वर्षको पछिल्लो आधा समय कोरोना महामारीका कारण अन्यत्र केन्द्रित हुने अवसर मिलेन । महामारीअघिको समयमा विभिन्न एजेन्डा र कार्यक्रममा निरन्तर र सक्रियतापूर्वक लागि परेका हामी त्यसपछि भने महामारी प्रभावितहरुको सहयोग र जनचेतना अभियानमै केन्द्रित बनेका छौं ।

आम गैरआवासीय नेपालीहरुको ठूलो चासो र चिन्ता रहेको नागरिकता निरन्तरता, पैत्रिक सम्पत्तिको सुरक्षा, भूतपूर्व गोर्खा हकहितका एजेन्डा लागायतका विषयमा हामीले आफ्नो लबिङ र खबरदारीलाई निरन्तर जारी राखेका छौ । म अध्यक्ष निर्वाचित भएको पहिलो केही महिनाभित्रै २ पटक नेपाल पुगेर नेपाल सरकारका मन्त्रीज्यूहरु, सतारुढ तथा विपक्षी पार्टीका शीर्ष नेताहरु, संसदको राज्य व्यवस्था समितिका सभापति लगायतका सरोकारवाला उच्चपदस्थ अधिकारीहरुसँग भेट्ने, छलफल गर्ने, ज्ञापनपत्र बुझाउने, दबाब सिर्जना गर्ने र हाम्रो मागहरुको पक्षमा लबिङ गर्ने प्रयासहरु गरिएको छ । यही अभियानमा सघाउ पुग्ने खालका कयौं कार्यक्रम, अन्तरक्रिया पनि हामीले सम्पन्न गरेका छौं ।

‘कोभिड १९’ महामारी शुरु भएलगत्तै मेरै नेतृत्वमा ‘कोभिड १९’ सहायता समिति बनाएर गैरआवासीय नेपाली संघले बेलायत तथा नेपाल दुबै ठाउँमा आफूले सक्दो सहयोग गरेको छ ।

महामारीको बेला बेलायतमा अलपत्र परेका विधार्थी हुन् वा भाषाको कठिनाई , कमजोर स्वास्थ्यवस्था र बुढ्यौलीले गर्दा अफ्टेरोमा परेका पूर्व गोर्खा बाबाआमाहरु, गैरआवासीय नेपाली संघ बेलायतले आवश्यकताअनुसारको राहत र सहयोग प्रदान गर्ने कोशिस गरेको छ । महिनौसम्म हटलाइन नै संचालन गरेर हाम्रो सम्पर्कमा आउने हरेक नेपालीलाई आवश्यक सहयोग गर्ने प्रयास गरेका छौं ।

हालै मात्रै नेपालका सातै प्रदेशमा अक्सिजन मेसिन हस्तान्तरण गरिसकिएको छ । लकडाउनका बेला बेलायतमै अड्किएका सयौं नेपाली स्वदेश फर्काउने अभियानमा पनि गैरआवासीय नेपाली संघ बेलायतले संयोजनकारी भूमिका खेलेको छ ।

कामहरु धेरै छन्, हामीप्रतिको समुदायका अपेक्षा पनि उत्तिकै छन् भन्ने हामीले बुझेका छौं । हाम्रो क्षमता र स्रोत, साधनले भ्याएसम्म तपाईंहरुका ती अपेक्षाहरु पूरा गर्दै, सबैले खोजेजस्तो एनआरएनए यूके बनाउने आभियानमा हामी निरन्तर लागिरहनेछौं । अब बांकी रहेको १ वर्षभित्र पनि त्यसरी नै अघि बढ्न र अधुरो रहेका कामहरु पूरा गर्न हामी प्रतिबद्ध छौं । तपाईंहरुको तर्फबाट विगतमा जस्तै भविष्यमा पनि आवश्यक सहयोग, सल्लाह, सुझाव र मार्गदर्शन पाउने नै छौं भन्ने आशा हामीले गरेका छौं ।

गत एक वर्षमा संस्थाको काममा दिनरात नभनी खटिने मेरो सिंगो कार्यसमितिका सबै साथीहरु , हामीलाई मार्गदर्शन गर्नुहुने प्रमुख संरक्षक एवम् संरक्षकहरु, सल्लाहकारहरु, आइसिसी पदाधिकारी ज्युहरु, अनररी सदस्यहरु एवम् सदस्यहरु, चार वटै राज्य परिषदका टीमहरु, ‘कोभिड १९’ सहयोग अभियानमा खटिने संयोजक, विभाग प्रमुख तथा स्वयमसेवकहरु सबैमा म हार्दिक आभार प्रकट गर्दछु ।

त्यस्तै, हाम्रो यो अभियानमा सधैं सहयोग र समन्वय गर्नुहुने महामहिम राजदूत डा दुर्गाबहादुर सुवेदी एवम् दूतावास परिवार, बेलायतस्थित सम्पूर्ण नेपाली संघसंस्था, पत्रकार साथीहरुसहित सिंगो नेपाली समुदायमा उच्च सम्मानसहित कृतज्ञता व्यक्त गर्दछु ।