७ बैशाख २०८१, शुक्रबार
Follow Us

लिम्पियाधुरासहितको नक्सा छापिएका किताब वितरणमा रोक

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०७७, बुधबार ०४:०९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हालै जारी गरेको नयाँ राजनीतिक नक्सा र त्यसको क्षेत्रफल उल्लेख गरिएका विद्यालय तहका पाठ्यसामग्री बिक्री वितरणमा रोक लगाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्रीले किताब रोक्न निर्देशन दिएको र आफूहरूले त्यस्ता पाठ्यसामग्री रोकिसकेको जानकारी दिए । मन्त्री पोखरेलका अनुसार परराष्ट्र, भूमि र शिक्षामन्त्रीले बैठक गरेर रिपोर्ट गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

भारतले अतिक्रमण गरेका नेपाली भूभाग समेटेर सरकारले जेठ ७ गते नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार संविधानमा संशोधन समेत भइसकेको छ ।

नयाँ नक्साअनुसार पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको नेपालको भूभाग र सीमासम्बन्धी सामग्रीमा थप भएको क्षेत्रफल समेतका तथ्यांक र अन्तर्राष्ट्रिय सीमा विवादको निरुपणबारे पनि उल्लेख गरेको छ ।