१६ चैत्र २०८०, शुक्रबार
Follow Us

२०७३ को मोतिलाल सिंह शोधपत्र छात्रवृत्ति श्रुती श्रेष्ठलाई प्रदान

नेपालब्रिटेन डट कम्
२ पुष २०७३, शनिबार १९:११

नेपाल अध्ययन केन्द्र बेलायत (सिएनएसयुके)ले यसै बर्ष स्थापना गरेको मोतिलाल सिंह स्नातोकत्तर शोध छात्रवृत्ति त्रिभुवन विश्वविद्यालयमा सोसल ओर्क विषयमा विषयमा अध्ययन गर्ने छात्रा श्रुती श्रेष्ठलाई प्रदान गरिएको छ । भूतपुर्व गोर्खाको बसाइँसराइ, बुढ्यौली र मानसिक स्वास्थ्यसम्बन्धी अध्ययनगरी शोधपत्र तयार गर्न उनलाई यो छात्रवृत्ति प्रदान गरिएको हो ।

उक्त छात्रवृत्तिमा रू ५०,००० नगद साथै स्नातकोत्तर तहको गुणस्तरीय शोधपत्र लेख्नको लागि नेपाल अध्ययन केन्द्रको तर्फबाट प्राज्ञिक परामर्शसमेत समावेश छ ।

यलमाया केन्द्र, पाटन ढोकामा आयोजित एक प्राज्ञिक समारोहमा केन्द्रका सल्लाहकार अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डेविड गेल्नरले उक्त छात्रवृत्ति रकम र प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । केन्द्रको तर्फबाट उक्त छात्रवृत्तिको संयोजन गर्दै आउनु भएका डा. कृष्ण अधिकारीले उक्त छात्रवृत्ति, छनोट प्रक्रिया र मोतिलाल सिंहको बारेमा प्रकाश पार्नु भएको थियो ।

विद्यार्थीहरूमा मौलिक र गुणस्तरीय अनुसन्धान गर्ने र शोधपत्र लेख्ने क्षमता विकास होस् र नेपालका प्राज्ञिक संस्थाहरूबाट हुने अनुसन्धानको गुणस्तर अभिवृद्धिमा प्रेरणा मिल्न सकोस् भनेर यो छात्रवृत्ति नेपाली विश्वविधालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीको लागि मात्र खुला गरिएको थियो ।

नेपाल-बेलायत सम्बन्ध स्थापना भएको २०० बर्ष पूरा भएको उपलक्ष्यमा मोतीलाल सिंहको नाममा यो छात्रवृत्ति स्थापना भएको हो । डा. कृष्ण अधिकारीद्वारा लिखित मोतिलाल सिंहको बारेमा अनुसन्धानात्मक तथा अनुवादित तथा केन्द्रबाट प्रकाशित पुस्तकको बिक्रीबाट उठेको सम्पूर्ण रकमबाट उक्त छात्रवृत्ति स्थापना गरिएको हो ।

बि.सं. १८७१/०७२ (सन १८१४) मा नेपाल-अङ्ग्रेज युद्धमा लडेका नेपाली योद्धा मोतीलाल सिंह एक ऐतिहासिक व्यक्तित्व थिए । उक्त युद्धमा घाइते भइ इस्ट इण्डिया कम्पनीद्वारा युद्धबन्दी बनाएका उनी पछि अङ्ग्रेजबाट स्थापित पहिलो गोर्खा फौजमा भर्ति गरिएका सिपाहीमध्येका एक थिए । बि.सं. १९०६ मा जङ्गबहादुर राणालाई बेलायतमै भेटेका उनी बेलायत पुग्ने पहिलो नेपाली हुन् | लण्डनबाट प्रकाशित हुने न्यू मन्थली म्यागजिन एन्ड हुयुमरिस्टको जुलाई १८५० को अंकमा१८ पेज लामो लेख छपाएका मोतिलाल हालसम्म थाहा भएसम्म अङ्ग्रेजी व्यवस्थित लेख छपाउने पहिलो नेपाली हुन ।
सन् २००७ मा दर्ता बेलायतमा दर्ता भएको नेपाल अध्ययन केन्द्रले नेपालीको बारेमा ज्ञान अभिवृद्धिको लक्ष्य राखी निरन्तर अनुसन्धानात्मक र प्राज्ञिक कृयाकलाप गर्दै आएको छ ।