७ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०७७, बिहीबार १३:१३

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु भएको संख्या एक साता यताकै बढी हो । मृत्यु हुनेमा ५ महिला र १२ जना पुरुष रहेका छन् । संक्रमणबाट मोरङ, सुनसरी, भक्तपुर, काठमाडौँ र धादिङमा एक–एक जना महिलाको मृत्यु भएको छ । त्यस्तै, काठमाडौँमा तीन, धनुषामा दुई, भक्तपुर, झापा, रौतहट, तनहुँ, दाङ, कपिलवस्तु र नवलपरासीमा एक–एक जना पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको प्रतिशत ० दशमलव छ पाँच रहेको छ ।

नेपालमा बिहीवार थप १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा ५ सय १३ जना महिला र ९ सय ८४ जना पुरुषमा गरी १ हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमित हुनेको संख्या ६९ हजार ३ सय १ पुगेको छ । काठमाडौं उपत्यकामा थप ७ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जना संक्रमित थपिएका हुन् । त्यस्तै, काठमाडौँ उपत्यका बाहेक २० जनाभन्दा बढी संक्रमित भेटिएका जिल्लाहरुमा मोरङ, पर्सा, सिरहा, चितवन, मकवानपुर र कैलाली रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ । पछिल्लो चौविस घण्टामा ४ सय ५७ जना संक्रमण मुक्त भएका हुन् । नेपालमा डिस्चार्ज हुने प्रतिशत ७२ दशमलव ७ रहेको छ । अहिले देशभरका आइसोलेशनमा १८ हजार ४ सय ३७ जना संक्रिय संक्रमित रहेका छन् । तीमध्ये ९ हजार ८ सय २३ जना होम आइसोलेसन र ८ हजार ६ सय १४ जना संस्थागत आइसोलेसनमा छन् । देशभर क्वारेन्टिनमा ६ हजार ५ सय ६५ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म ९ लाख ५५ हजार ९ सय २३ वटा पीसीआर परीक्षण गरिएको छ । पछिल्लो चौविस घण्टामा ११ हजार ४ सय ४९ वटा नमुना परीक्षण गरिएको हो । देशभर भेन्टिलेटरमा २८ र आइसीयूमा २३२ जनाको उपचार भइरहेको छ । पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेका छन् । सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा संक्रमितको संख्या शून्य रहेको छ ।