१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ग्लोबल आइएमई बैंक लि. र होटल व्यवसायी महासंघ नेपाल बिच सम्झौता

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०७७, बिहीबार १३:१६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपाल बिच सहुलियतपूर्ण कर्जा गर्ने सम्झौता भएको छ ।

बैंकले महासंघसँग आबद्ध नेपालभर रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूलाई जनचेतना बढाएर सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैकिङ्ग कारोबारको पहुँच भित्र ल्याउने विषयसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिरा ध्वज शाहले हस्ताक्षर गरेका छन् ।

होटल व्यवसायी महासंघ नेपालसँग आबद्ध व्यवसायीहरूलाई आर्थिक कारोबारमा सघाउ पुर्‍याउन तथा हाल कोभिड–१९बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग पुर्‍याउने हेतुले बैंक नियमानुसार कर्जा सुविधा प्रदान गर्ने सहमति भएको छ ।

यसका साथै महासंघसँग आबद्ध व्यवसायीहरूको लागि बैंकले आवश्यकताअनुसार बैंकिङ्ग एवं वित्तीय साक्षरतासम्बन्धी तालिम समेत प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ । यस्तो सुविधा लिनको लागि महासंघसँग आबद्ध सम्पूर्ण व्यवसायीहरूले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघरसंस्थाहरूसँग समन्वय गरी यस्ता योजनाहरू ल्याउने गरेको छ ।