October 29, 2020
9:54 PM | 3:39 AM

‘सगुनका प्रयोगकर्ता ८१ लाख पुगेका छन्, कम्पनीको मूल्यांकन १२६ मिलियन डलर पुगेको छ’ – कविन्द्र सिटौला

  25/09/2020 मा प्रकाशित

अमेरिकामा मुख्यालय रहेको सामाजिक संजालमा आधारित इ-कमर्स कम्पनी सगुनका बारे मिडियामा विभिन्न टिकाटिप्पणीहरु भएका छन्। त्यस्ता टिप्पणीबारे ‘एन आर एन बहस’ मा नेपाल ब्रिटेन डटकमका प्रधान सम्पादक चिरन शर्माले सगुनका सह-संस्थापक कबिन सिटौलासंग कुराकानी गरेका थिए। प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश:

२०१५ देखिको सगुनको म्याराथुन अहिले कहाँ पुग्यो ?

पक्कै पनि २०१५ देखि सुरु म्याराथुन आज ग्लोबल म्याराथुन बनिसकेको छ । हाम्रो बृहत मिसन स्टार्ट अप, इनोभेशन, आइडियालाई बृहत रुपमा अघि बढाइरहेका छौँ । हालका लागि हाम्रो सम्पत्ति भनेको प्रयोगकर्ताहरु हुनुहुन्छ, जुन २०१७ मा वेभ एप लञ्च गर्दा ६ लाख हुनुहुन्थ्यो । आज ८१ लाखले सगुनको प्लेटफर्म प्रयोग गर्नुहुन्छ । त्यसले कम्पनीले प्रगति गरिरहेको छ भन्ने देखाउँछ ।
नेपालका चर्चित सञ्चारमाध्यममा समेत सगुनमाथि आशंका व्यक्त गर्दै लगानीकर्ताको लगानी डुबेको भन्ने खालका समाचारहरु आइरहेका छन्, त्यसमा कत्तिको सत्यता छ ?
हरेक कुरामा चेक एण्ड ब्यालेन्स हुनुपर्छ, उहाँहरुले हाम्रो बारेमा खोजी गर्नुभयो । हाम्रा लगानीकर्ताका बारेमा चिन्ता व्यक्त गर्नुभयो, यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । तर उहाँहरुले प्रकाशन गर्नुभएको कुराहरुमा भने हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उहाँहरुले भन्नुभएको घाटा जसलाई हामीले पहिलेदेखि नै देखाईरहेका छौँ । हामी US Securities and Exchange Commission (SEC) द्वारा नियन्त्रित छौँ । हामीले GAP मानक लेखा प्रक्रिया अनुसरण गर्दआएका छौँ र प्रत्येक ६ महिनामा SEC लाइ आर्थिक विवरण बुझाउँछौँ । ती विवरण जुन उहाँहरुले प्रकाशन गर्नुभयो ती त सार्वजनिक रूपमा उपलब्ध छन् । जो कोहीले यसलाई SEC को साइटमा हेर्न सक्दछन् ।
सगुन अमेरिकी सरकार मात्रै होइन, भारत सरकार र नेपाल सरकारको नियम र विनियमनद्वारा नियन्त्रित छ । जो कोहीले हाम्रो लगानी पृष्ठमार्फत हाम्रो प्रस्ताव सर्कुलर जाँच गर्न सक्दछन् । लगानीकर्ताको अधिकार बुझ्नका लागि हाम्रा सबै कागजातहरू पारदर्शी छन् । हामी जहिले पनि जुनसुकै प्रश्नको उत्तर लगानीकर्ताहरूलाई दिइरहेका हुन्छौं ।
अर्को कुरा, अहिलेका सफल सामाजिक संजालहरु पनि सुरुमा घाटामा गएका थिए भन्ने कुरा उनीहरुको इतिहास हेर्दा थाहा हुन्छ । यसको अर्थ उनीहरु वास्तविक रुपमा घाटा थिए भन्न मिल्दैन । त्यसैगरी सगुन पनि सोहि तरिकाले अगाडि बढेकाले सगुन घाटामा गएको भन्ने दावी सरासर गलत हो । स्टार्ट अप टेक कम्पनीहरुले आफ्नो आम्दानी नभइन्जेल लगानीकर्ताबाट अथवा अरु कुनै श्रोतबाट पूँजी जुटाउनै पर्छ । त्यसैले सगुनले आवश्यकता परेको बेलामा ऋण पनि लिएको हो । १ अर्ब घाटाको कुरा उठेको छ, जुन रकम सगुनको घाटा भनेर प्रचार गरिएको छ, त्यो सत्य होइन । कम्पनीले शुरुदेखि हालसम्म जति पनि इक्विटी सेयर विक्री गरेको छ, त्यो बराबरको रकम ग्याप एकाउण्टिङ प्रोसेसमा घाटाको रुपमा देखाइन्छ । तर वास्तवमा त्यो घाटा नभई कम्पनिले हालसम्म विक्री गरेको शेयरको वर्तमान मूल्य हो । सगुन नयाँ छ र फरक पनि । त्यसैले आशंकामा भन्दा पनि तथ्यपरक भएर सम्बन्धित निकायसँग समन्वय गरेर स्टार्ट अप कम्पनीको कल्चर बुझेर मात्रै समाचार प्रकाशन गर्न म अनुरोध गर्छु ।

संस्थाका लागि भन्दा पनि लगानीकर्ताको व्यक्तिगत र प्रचारमा बढी खर्च भयो भनिन्छ नि ?

यो सरासर गलत हो, मेरै कुरा गर्नुस् विगत एक वर्षदेखि मैले एक पैसा पनि लिएको छैन, संस्थापक गोविन्द गिरीजीले पनि न्यूनतम लिनुभएको छ । लगानीकर्ताको पैसा सकेसम्म जोगाइरहेका छौँ । लगानीकर्ताबाट संकलित रकम दुरुपयोग नहोस् भन्ने तर्फ हाम्रो व्यवस्थापन अत्यन्त सजग छ । कोभिड–१९ बाट उत्पन्न परिस्थितिका कारण हामीले अनावश्यक खर्च कटौती गरेका छौँ । म फेरि प्रष्ट पार्छु कि हाम्रा केही संस्थापकहरू स्वयंसेवककै रूपमा काम गरिरहेका छन् । तिनीहरूमध्ये केहीले धेरै वर्षसम्म विना पारिश्रमिक काम गरेका छन् । कम्पनीले नेपाल, भारत र अमेरिकी सरकारका अधिकारीहरुलाई वित्तीय प्रतिवेदन पेश गर्दै आएको छ । यहाँ मैले भन्नैपर्छ कि संस्थापक गोविन्द गिरीले समेत अन्य अमेरिकी कम्पनीहरुको तुलनामा निकै कम सुविधाहरु लिएर काम गरिरहनु भएको छ ।

स्टार्टअप कम्पनीमा लगानी के साँच्चै जोखिमपूर्ण हुन्छ ?
हामी एक टेक स्टार्ट अप कम्पनी हौँ । स्टार्ट अप कम्पनीमा लगानी गर्नु उच्च जोखिमयुक्त नै हुन्छ । स्टार्ट अप कम्पनी सफल भए त्यसबाट आउने प्रतिफल पनि उच्च हुन्छ । जो कोही उच्च जोखिम लिन चाहन्छ भने सगुन जस्तो स्टार्टअप कम्पनीमा लगानी गर्न उपयुक्त हुन्छ । यदि कम्पनीले ठूला व्यक्तिगत लगानीकर्ता वा सर्वसाधारण जनताबाट पैसा उठाउँदछ भने कम्पनीले, मूल्यांकन गर्ने तेस्रो पक्षबाट स्वतन्त्र रूपमा मूल्यांकन गराएर उनीहरूले तोकेको मूल्यका आधारमा सेयर मूल्य निर्धारण गरिन्छ । तर यहाँ बुझनै पर्ने कुरा चाहिँ स्टार्ट अप कम्पनी सबै उच्च जोखिममै हुन्छन् तर जोखिम उठाउन सकेमात्रै भोलि प्रतिफल पनि लिन सकिन्छ ।

बहुमत शेयर संस्थापकको नाममा छ, चार हजार लगानीकर्ता त देखाउनका लागि मात्रै हो भनिन्छ नि?

यो गलत हो, भोटिङ राइट संस्थापकसँग छ, तर शेयरको बारेमा हल्ला चलेको जस्तो छैन । जहाँसम्म सगुनका संस्थापकसँग रहेको क वर्गको शेयरको कुरा छ, त्यो अमेरिकी कानुन अनुसार नै रहेको छ । उहाँसंग रहेको क्लास ए को शेयर हो, जुन संस्थापकले US SEC को स्वीकृती विना बिक्रि गर्न मिल्दैन । अमेरिकामा सबैजसो स्टार्ट अप कम्पनीका संस्थापकहरुले आफुसंग सत प्रतिशत भोटिंग राइट राखेका हुन्छन्, तर सगुनले आफ्ना मिनी आइपीओ लगानीकर्ताहरुलाई १/१० भोटिंग राइट दिएको छ । कम्पनीमा लगानीकर्ता थपिंदै जाँदा कम्पनीका पुराना लगानीकर्ताहरुको प्रतिशत हिस्सा कम हुँदै जान्छ, तर नाफा र मूल्यांकन भने बढ्दै जान्छ, घट्दैन।
यदि कम्पनीले ठूला व्यक्तिगत लगानीकर्ता वा सर्वसाधारण जनताबाट पैसा उठाउँदछ भने कम्पनीले, मूल्यांकन गर्ने तेस्रो पक्षबाट स्वतन्त्ररूपमा मूल्यांकन गराएर उनीहरूले तोकेको मूल्यका आधारमा शेयर मूल्य निर्धारण गरिन्छ ।

सगुनसंग अहिले कति प्रयोगकर्ता छन्?
सन् २०१७ मा हाम्रा प्रयोगकर्ता संख्या ६ लाखको हाराहारीमा थियो । आजको दिनमा हेर्नुभयो भने सगुनका प्रयोगकर्ता ८१ लाखभन्दा माथि पुगिसकेका छन् । त्यस कारण पनि सगुन राइजिङ कम्पनी हो । कोभिड १९ का बेला सगुनको एप डाउनलोड निकै बढेको छ । त्यसैले यसका प्रयोगकर्ता ८१ लाख पुगेका हुन् । यसै वर्षको जुन महिनादेखि अहिलेसम्म हरेक महिना दस लाख भन्दा बढी प्रयोगकर्ताहरु सगुनमा जोडिँदै आएका छन् । अहिले ३०० भन्दा बढी प्रारम्भिक लगानीकर्ताको सेयर मूल्य ६० गुणाले बढेको छ । र, ४,००० भन्दा लगानीकर्ताको सेयर मूल्य ३० प्रतिशतले बढेको छ ।

विश्व बजारमा सगुन कहाँ छ ?
हामी पहिलो खुट्किलोमै छौँ, हामी फण्ड कलेक्शनमै केन्द्रित छौँ । कोरोना महामारी माझ नै पनि हाम्रा प्रयोगकर्ता बढेका छन् । तर भोलिका दिन ग्लोबल यात्रामा जाने क्रममा एउटा लय समातेका छौँ र त्यही अनुसारको तयारी, प्रतिस्पर्धाप्रति हामी सजग छौँ । आशावादी पनि । सगुनको हालको मूल्यांकन वर्तमान निष्पक्ष बजार मूल्यभन्दा तल छ । सगुन कम्पनीको मूल्यांकन हामी आफैँले गरेका होइनौँ । यसको मूल्यांकन ख्यातीप्राप्त स्वतन्त्र दुइवटा कम्पनीले गरेका हुन् । उनीहरुले हामीलाई सार्वजनिक कोष संकलनका लागि १५० मिलियनदेखि २०० मिलियन डलरको बीचमा सेयर निस्कासन गर्न सिफारिस गरेका थिए । तर हामीले ती दुवै मूल्यांकन हेरेर १२६ मिलियन डलरमा जाने निर्णय गरेका हौँ ।

सगुनमा लगानी किन गर्ने? यो कम्पनी भोलि डुब्दैन भन्ने के ग्यारेन्टी छ ?
हेर्नुस्, ग्यारेन्टी त केही कुराको पनि हुँदैन । तर यहाँ मैले लगानी गरेको कम्पनीमा म शतप्रतिशत विश्वास गर्छु । हामी अरु भन्दा फरक हौँ, हामी बेस्ट होइनौँ तर फरक पक्कै हौँ र हाम्रा प्रयोगकर्ता खुशी पनि छन् । सगुनका फिचरहरु नविनतम भएकै कारण यसप्रति प्रयोगकर्ताको आर्कषण बढेको छ । सगुन प्रोडक्ट अनुसार ‘कनेक्ट, शेयर एण्ड अर्न’ भन्ने सिद्धान्त बोकेर अघि बढेको छ । यसमा हामीले यस्तो सिस्टम ल्याएका छौँ, जसमा प्रयोगकर्ताले सिस्टम प्रयोग गर्दा कमाउने मौका पाउनेछन् । भन्नुको मतलब यसमा कम्पनी मात्रै होइन प्रयोगकर्ता पनि प्रत्यक्ष लाभान्वित हुन्छन् । फिचरको कुरा गरिरहँदा हामीले सामान्य फिचरहरू यसअघि नै प्रयोगमा लिएर आइसकेका थियौँ, तर अहिले यसको सबैभन्दा फरक र आकर्षक फिचर चाहिँ सामाजिक स्मार्ट कार्ड (Social Smart Card) हो । र, म फेरि भन्छु हामी अन्य सामाजिक सञ्जालजस्ता होइनौँ ती भन्दा फरक र नवीन छौँ ।

कम्पनीको खर्च धेरै देखिन्छ, खास खर्च चाहिं के का लागि बढी हुने रहेछ ?
कम्पनीलाई व्यवसाय चलाउन कोष चाहिन्छ । त्यसमा अनुसन्धान र विकास, तलब, कानूनी शुल्क, डेटा स्ट्रिमिङ्ग र मार्केटिंग खर्च पर्दछन् । स्टार्ट अप कम्पनीले नयाँ प्रडक्ट तथा फिचर विकास गर्न पटक पटक लगानी जुटाउने गर्छन् । त्यसैका लागि अहिले फेरि मिनी आइपीओ खोलिएको हो ।

नेपालबाट लगानी ल्याउन मिल्दैन भनिन्छ तर प्रचार त नेपालमै बढी छ नि ?
यहाँ बुझनुपर्ने कुरा के हो भने नेपालबाट भन्दा पनि नेपालबाट बाहिर जाने नेपालीलाई लगानीका लागि प्रोत्साहन गर्नका लागि प्रचार गरेका हौँ । र अर्को कुरा हामी आफैँ गैरआवासीय नेपाली हौँ । आफूले विकास गरेको कुरा नेपालमा लैजाऊँ र नेपालीले प्रयोग गरुन् भन्ने अपेक्षा राख्नु त गलत होइन नि ।

सगुनले प्रधानमन्त्री वा गैरआवासीय नेपाली संघ (एनआरएनए) को नाम बेचेर फाइदा उठाएको भन्ने आरोप छ नि ?
यो सरासर गलत हो । प्रधानमन्त्री के पी शर्मा ओलीले विदेशमा बसोबास गर्ने नेपालीहरुले ग्लोबल भिजन लिएर स्थापना गरेको स्टार्ट अप कम्पनीलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको हो । सगुन सफल हुँदा त्यसले कमाउने रकम नेपालमै खर्च गर्ने हामीले प्रतिवद्धता व्यक्त गरेका छौँ । एनआरएनएमा आवद्ध नेपालीहरुले सगुन, नेपालीले विकास गरेको प्रोडक्ट भनेर सहयोग गर्नु भएको हो । हामीले एनआरएनएको नाम दुरुपयोग गरेका छैनौँ ।

अन्त्यमा के भन्नुहुन्छ ?
सगुन अहिले सार्वजनिक कम्पनी होइन । त्यसैले हाम्रो सेयर कुनै सार्वजनिक बजारमा सूचीकृत छैन । त्यसो भएकाले हाम्रा लगानीकर्ताहरूले खुला बजार उपलब्ध नभएसम्म पर्खनु पर्दछ । हामीले हाम्रो प्रस्ताव सर्कुलरमा पनि यसलाई स्पष्ट रूपमा उल्लेख गरेका छौँ । सगुनले सन् २०२१ मा दोश्रो बजारमा जाने योजना बनाइ सकेको छ र सोहि अनुरुप काम पनि अगाडी बढाई रहेको छ । सगुनका लगानीकर्ताहरुले दोश्रो बजारमा त्यो बेलाको मूल्य अनुसार शेयर किनबेच गर्न पाउनेछन् । त्यसका लागि केही समय अझै प्रतिक्षा गर्नुहोस् हामी प्रतिबद्धता जनाउँछौँ कि तपाईको लगानी डुब्न दिँदैनौँ । अर्को कुरा, जुन किसिमका भ्रमपूर्ण कुराहरु आएका छन् ती सबै, अल्पज्ञानका कारण हो । म मिडियालाई पनि अनुरोध गर्छु कि केही लेख्नुपूर्व, हामीसंग किन कन्फर्म गरिएन ? किन एकपक्षीय समाचार दिइयो ? हामीलाई, लगानीकर्ता र हाम्रो मिशनलाई, हानी गर्ने गरी समाचार लेख्दा के फाइदा हुन्छ ? यहाँ बुझ्नैपर्छ कि सगुन सफल हुँदा ९० प्रतिशत नेपाली पनि सफल हुन्छन् । त्यसैले सकारात्मक होऔँ र नबुझेका कुरालाई कन्फर्म गरेर मात्रै लेखौँ, सञ्चारकर्मीलाई मेरो आग्रह पनि यही छ ।

हेर्नोस् भिडिओ:

प्रतिक्रिया