१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोना संक्रमणबाट झण्डै २० लाख मानिसको मृत्यु हुन सक्छ : डब्लुएचओ

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०७७, शनिबार ०५:०७

जुरिच । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले कोरोना भाइरसको संक्रमणका कारण झण्डै बीस लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । कोरोना भाइरस विरुद्धको प्रभावकारी खोपको प्रयोग हुनुअघि नै ठुलो संख्यामा मानिको मृत्यु हुनसक्ने डब्लुएचओले चेतावनी दिएको हो ।

जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डब्लूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले विश्वब्यापी सहकार्य नहुने हो भने कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या सोचेभन्दा धेरै हुने बताएका छन् ।

विश्व सामुदाय नै सचेत नभएमा कोरोना संक्रमणले सोचेभन्दा धेरै क्षति गर्ने राइनले बताए । कोरोना संक्रमणबाट अहिलेसम्म झण्डै दश लाख मानिसको मृत्यु भएको छ ।

चिसो महिना सुरु भएसँगै संक्रमणको दोस्रो लहर फैलने चिन्ता डब्लुएचओले ब्यक्त गरेको छ । मौसमी रुघाखोकी जस्तै चिसो मौसममा कोरोनाको संक्रमण दर अझ बढ्ने अनुमान गरिएको छ ।

अहिलेसम्म कोरोना भाइरसवाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ७२ लाख ३६ हजारमा कोरोना पुष्टि भएको छ भने २ लाख ८ हजारको मृत्यु भएको छ । छिमेकी मुलक भारतमा ५९ लाखमा कोरोना पुष्टि भएको छ भने ९३ हजारको मृत्यु भएको छ ।

ब्राजिलमा ४६ लाख ९२ हजारमा कोरोना पुष्टि भएको छ भने १ लाख ४० हजारको मृत्यु भएको छ । अहिले विश्वभर ३ करोड २७ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ४१ लाख निको भएका छन् । ९ लाख ९२ हजारको मृत्यु भैसकेको छ ।