१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोनाविरुद्धको चिनियाँ खोपलाई आम नागरिकमा ल्याउन डब्लुएचओको अनुमति

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०७७, शनिबार १२:३२

बेइजिङ। चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको भ्याक्सिनलाई आम नागरिकमा लगाउन विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले अनुमति दिएको छ । रोयटर्सका अनुसार चिनियाँ स्वास्थ्य अधिकारीले डब्ल्युएचओले आम मानिसमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिएको जानकारी समाचार सार्वजनिक गरेको छ ।

चीनले तेस्रो चरणमा ५ वटा भ्याक्सिन परीक्षण गरिरहेको छ । त्यसमध्ये सबैभन्दा सफल मानिएको भ्याक्सिन आम नागरिकलाई दिनका लागि डब्ल्युएचओले अनुमति दिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनले तेस्रो चरणको परीक्षण अन्तरगत आम मानिसमा भ्याक्सिन लगाउँदा पश्चिमा देशहरुले आलोचना गरेका थिए । चीनले जुलाइ महिनामा आपतकालीनरुपमा भ्याक्सिन प्रयोग गर्न अनुमति दिएको थियो ।

चिनियाँ नेशनल हेल्थ कमिसनका अधिकारी झेङ्ग झोङ्गवेइले डब्ल्युएचओले कोरोना भ्याक्सिनका बारेमा हालै जानकारी गराएको बताएका छन् । चीनले यसअघि नै आपतकालीनरुपमा लाखौँ व्यक्तिलाई कोरोनाविरुद्धको भ्याक्सिन दिन सुरु गरिसकेको छ ।

डब्ल्युएचओका डायरेक्टर जनरल डा. मरिअनजेला सिमाओले आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जानकारी दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डब्ल्युएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले आपतकालीन प्रयोग अस्थायी समाधान भन्दै तेस्रो चरणको परीक्षणको नतिजाले विशेष महत्व राख्ने बताएका छन् ।

सिएनबिजी र सिनोभ्याक भ्याक्सिन चीनमा आपतकालीनरुपमा दिन थालिएको छ । क्यानसिनोको भ्याक्सिन भने मिलिट्रीका लागि प्रयोग गरिएको छ । चिनियाँ अधिकारीले सन् २०२० को अन्तिमसम्म चीनले भ्याक्सिन बजारमा ल्याउने बताएका छन् । एक वर्षभित्र ६१ करोड भ्याक्सिन उत्पादनको क्षमता आफ्नो देशसँग भएको चीनले जनाएको छ ।