१२ बैशाख २०८१, बुधबार
Follow Us

‘पद्मश्री साहित्य पुरस्कार तथा पद्मश्री साधना’ सम्मान २०७६ घोषणा

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७७, शनिबार १९:१४

लण्डन । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका अनुसार प्रतिष्ठानको हालै सम्पन्न बैठकले तीन लाख रुपैयाँ राशिको सो पुरस्कारले लेखकद्धयलाई सम्मान गर्ने निर्णय गरेको हो ।

‘हंस’ उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, कानुन तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि त्यसले मानिसलाई नै कसरी थिचिरहेछ र बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गरेका छन् ।

त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान विगत छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका साहित्यकार मोदनाथ प्रश्रितलाई अर्पण गर्ने निर्णय गरिएको छ । उनी पूर्वीय दर्शन तथा माक्र्सवादी विचारलाई वैज्ञानिक र वस्तुवादी ढङ्गले विश्लेषण गरी विश्व मानवता र बन्धुत्व जगाउने लेखक हुन् ।

२०६३ सालदेखि खेमलाल हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

त्यस्तै २०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिँदै आएकोमा यस पटक विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा अर्पण गरिने अध्यक्ष लामिछानेले जानकारी दिए ।