१३ बैशाख २०८१, बिहीबार
Follow Us

सगुन एपमा नयाँ फिचर ‘मुड टक’ को सफलतापूर्वक परीक्षण

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७७, शनिबार २२:२६

भर्जिनिया, अमेरिका । सामाजिक संजालमा आधारित इकमर्स कम्पनी सगुनले सगुन एपमा एउटा नयाँ फिचर ‘मुड टक’ को बेटा भर्सनको सफलतापूर्वक परीक्षण गरेको छ।

शनिवार जूम मार्फत आफ्ना लगानीकर्ता तथा प्रयोगकर्ताहरु माझ गरिएको परीक्षणमा सगुनका संस्थापक गोविन्द गिरीले केहि समय अघि बिरामी हुँदा आमालाई आफ्नो भावना कसरी पुराउने भन्ने सोचेर उक्त च्याटको परिकल्पना आफुले गरेको बताए। त्यस पछि आफ्नो प्राविधिक टिमसंग बसेर लामो गृहकार्य पछि यो फिचर अहिलेको स्वरुपमा तयार भएको उनले जानकारी दिए।

सगुनका हेड अफ टेक्नलजी कपिल नवानीले लामो अनुसन्धान र बजारमा उपलब्ध अन्य सामाजिक संजालको पनि अध्ययन गरेर मुड टक विकास गरिएको बताए। उनले आम प्रयोगकर्ताका लागि सगुन एपको नयाँ भर्सन छिटै उपलब्ध हुने जानकारी पनि दिए । उनले मुड टकमा रहेका विभिन्न फिचरहरुको लाइभ डेमो गरेर देखेका थिए।

सगुनकी सहसंस्थापक स्वाती दयालले आफ्नो टिमले रातदिन काम गरेर उक्त भर्सन तयार गरेको जानकारी गराइन्। उनले २४ घण्टामा च्याट आफै डिलिट हुने तर त्यो भन्दा पहिले आफुले पनि डिलिट गर्न सकिने बताइन्। उनले यसमा चित्र वा भिडियो पनि चाडै शेयर गर्न मिल्ने र यो फिचरले मानिसहरुलाई कुराकानी शुरु गर्न, सम्वन्ध बनाउन र बलियो बनाउन सघाउने विश्वास व्यक्त गरिन्।

दक्षिण कोरियामा रहेका सगुनका एकजना लगानीकर्ता सत्तम लामाले मुड टकको सहायताले आफ्नो परिवारसंग कुरा गर्न पाउंदा साह्रै खुसी लागेको बताए। उनले यो फिचर चांडै लोकप्रिय हुने विश्वास पनि व्यक्त गरे।

नेपालमा रहेका प्रयोगकर्ताहरु शिशिर पोखरेल र ध्रुव शर्माले नयाँ फिचरबाट आफुहरु निकै उत्साहित भएको बताए। अमेरिकास्थित लगानीकर्ता चिन्ता बजगाईंले नयाँ फिचर सगुनका लागि एक कोशे ढुंगा भएको बताए। जापान निवासी लगानीकर्ता क्रिस गैरेले नयाँ फिचर ल्याएकोमा सगुनलाई धन्यवाद दिए।

सगुनका सहसंस्थापक कबिन सिटौलाले सगुनको यात्रामा आजको दिन ऐतिहासिक भएको भन्दै यो फिचर विकास गर्न सघाउने टिमका सबै सदस्यलाई धन्यवाद दिए। उनले सगुनले जहिले पनि अरु भन्दा अलग भएर समाजमा केही नयाँ कुरा ल्याउन प्रयास गरिरहेको बताए। उनले आगामी दिनमा पनि सगुनलाई यसैगरी सबैको सहयोग र साथ प्राप्त भै रहने विश्वास व्यक्त गरे।