१३ बैशाख २०८१, बिहीबार
Follow Us

आज विश्व पर्यटन दिवस मनाइँदै

नेपालब्रिटेन संवाददाता
११ आश्विन २०७७, आईतवार ०५:१५

काठमाडौं । पर्यटन र ग्रामीण विकासको नारासहित आज विश्व पर्यटन दिवस मनाइँदै छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउदै आइएको छ ।

कोरोना महामारीका कारण विश्वभरि नै सीमित खालका कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । कोरोना संक्रमणका कारण यो वर्ष नेपालमा दिवसको खासै रौनक भने छैन । मुख्य पर्यटकीय क्षेत्रमा पनि खासै कार्यक्रम आयोजना गरिएका छैनन् ।

पर्यटन व्यवसायीहरुले दिवसको अवसरमा हाइकिङ, ट्रेकिङका कार्यक्रमहरु आयोजना गरेका छन । दिवसका अवसरमा शुभकामना सन्देश दिदै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटनका नवीनतम र दिगो गन्तव्यहरूको पहिचान, पूर्वाधार विकासका काम गरिरहेको बताएका छन् ।

कोरोना महामारीले नेपालको पर्यटन क्षेत्रलाई प्रभाव पारेपनि निकट भविष्यमा नै यो महाव्याधि नियन्त्रणमा आउने र नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने उनको भनाइ छ ।

विश्व पर्यटन परिषद्को सन् २०१९ को तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ दशमलव सात प्रतिशत रहेको छ भने करीब एघार लाख रोजगारी सृजना गरेको सरकारको दाबी छ ।