८ बैशाख २०८१, शनिबार
Follow Us

क्षेत्री समाज यूकेमा नयाँ कार्यसमिति

नेपालब्रिटेन डट कम्
११ आश्विन २०७७, आईतवार १९:४१

लण्डन । क्षेत्री समाज यूकेले नयाँ कार्यसमितिको चयन गरेको छ। समाजको आइतबार बसेको भर्चुअल अधिबेशनले आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो । अधिबेशनले यज्ञ क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । उनी संस्थाको निवर्तमान उपाध्यक्ष हुन्।

आगामी दुई वर्षका लागि नवगठित कार्यसमितिका सम्पूर्ण समिति नै निर्विरोध रुपमा चयन भएको छ । समाजको नयाँ कार्यसमितिका लागि दुई उपाध्यक्षमा प्रकाश राउत र महेन्द्र केसी, महिला उपाध्यक्षमा श्रद्धा थापा र महासचिवमा क्या. दीर्घ केसी चयन भएका छन् । त्यसैगरी, सचिवमा टोप बहादुर (रुपेश) राउत, कोषाध्यक्षमा मनिष खड्का र सह-कोषाध्यक्षमा अन्जना थापा निर्विरोध निर्वाचित भए ।

संस्थाको मिडिया सेक्रेटरीमा नरेन्द्र बस्नेत, सामाजिक सेक्रेटरीमा दिल जिसी र महिला संयोजकमा माया केसी छन् भने कार्यसमिति सदस्यहरुमा डा. मिन रानाभाट, बन्दना केसी, गंगाबहादुर क्षेत्री (केसी), मिलन केसी, राजु बोहोरा र यम बहादुर भण्डारी पनि निर्विरोध भएका छन् । प्रमुख निर्वाचन आयुक्त रामशरण सिम्खडाले नवगठित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, गैर आवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङ, ठकुरी समाज बेलायतका अध्यक्ष रामराज मल्ल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै राजदूत सुवेदीले क्षेत्री समाज बेलायत एक सशक्त सामाजिक संस्थाको रुपमा रहेको र यसले बेलायत मात्र नभई मातृभूमिलाई पनि उत्तिकै सहयोग गर्दै आएको बताए । ‘कविता कन्सर्ट’ जस्तो साहित्यिक कार्यक्रम आयोजना गरि सिन्धुपाल्चोकको टेकानपुरस्थित कालिका माविमा विद्युतीय पुस्तकालयसहित २ कोठे भवन निर्माण गरी पुरयाएको सहयोगको सह्राना गर्दै सम्पूर्ण राजदूतावास र आफ्नो व्यक्तिगत तर्फबाट समेत धन्यबाद व्यक्त गरे ।

आफ्नो ४ वर्षे कार्यकालमा सामाजका विभिन्न गतिविधि नियाल्ने र नजिक भएर काम गर्ने अवसर पाएको सुवेदीले बताए । अब केहि समयपछि आफ्नो कार्याकाल पूरा गरेर नेपाल फर्किन लागेको र भौगोलिक रुपमा टाढा भएपनि सहयोगको लागि संधै तयार रहने सुवेदीले बताए । त्यस्तै गैर आवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले पनि क्षेत्री समाज बेलायतको योगदान र सहयोगको चर्चा गरेकी थिइन् । समाजका विभिन्न व्यक्तिहरु एनआरएनएसंग प्रत्यक्ष सम्बन्धित रहेको र महत्वपूर्ण योगदान पु-याएको गुरुङले बताइन् ।

कार्यसमितिका निवर्तमान अध्यक्ष राजन क्षेत्री तथा समाजका संरक्षक ध्रुब केसीले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष क्षेत्रीले करिब साँढे दुई वर्षसम्म समाजको अध्यक्ष जस्तो गरिमामय पदमा रहेर काम गर्ने अवसर दिएकामा सम्पूर्ण कार्यसमिति पदाधिकारी, संरक्षक, सल्लाहकार, समाजका सदस्यहरु लगायत सबैमा आभार व्यक्त गरे ।

उनले आउने दिनमा पनि समाजलाई अझै माथि पुराउने प्रण गर्दै नयां कार्यसमितिका अध्यक्ष यज्ञबहादुर क्षेत्रीसहित सिंगो कार्यसमितिलाई बधाई तथा शुभकामना दिए । त्यस्तै संरक्षक केसीले समाजलाई अघि बढाउन सबै एकजुट हुनुपर्ने भन्दै नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

सन् २००७ मा स्थापित क्षेत्री समाज यूके बेलायतको नेपाली समुदायमा सक्रिय संस्थाका रुपमा परिचित छ । समाजले विभिन्न समयमा च्यारिटीमूलक कार्य र मातृभूमिमा विभिन्न समस्या पर्दा सहयोग पनि गर्दै आएको छ ।

करिब ५ घण्टा चलेको उक्त भर्चुअल बैठकले पुरानो कार्यसमितिलाई बिदाइ गरि नयाँ कार्यसमितिको स्वागत गरेको छ । समाजका निवर्तमान महासचिव कुमार केसीले संचालन गरेको सो कार्यक्रममा सामाजको आर्थिक प्रतिवेदन लगायतका विभिन्न गतिविधिबारे छलफल गरिएको थियो ।