१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘पद्मश्री साहित्य पुरस्कार तथा पद्मश्री साधना’ सम्मान २०७६ रद्ध

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७७, सोमबार १८:१०

लण्डन । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई प्रदान गर्ने निर्णय फिर्ता लिएको छ ।

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानको सोमवार बसेको आकस्मिक बैठकले यो वर्ष प्रदान गरिने भनिएको पूर्वघोषित सम्मान तथा पुरस्कारको रद्द गर्ने निर्णय गरेको जनाएका छन् । प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई प्रदान गर्ने निर्णय गरेको थियो ।

त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान विगत छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका साहित्यकार मोदनाथ प्रश्रितलाई सम्मान गर्ने निर्णय गरेको थियो ।

दुबै सर्जकले सो सम्मान लिन अस्वीकार गरे उनीहरुकै इच्छामा यो वर्षको लागि सो सम्मान रद्ध गरिएको प्रतिष्ठानले जनाएको छ ।


विज्ञप्तिको पूर्णपाठ

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा वि स २०६३ सालदेखि प्रत्येक वर्ष कृतिका लागि अर्पण गरिँदै आएको पद्मश्री साहित्य पुरस्कार र वि।सं।२०६७ सालदेखि नियमित रूपमा अर्पण गरिँदै आएको पद्मश्री साधना सम्मान यस वर्ष पनि मिति २०७७।०६।११ मा घोषणा भएपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ ।

यसबाट पर्न गएको असहजताले हामी अत्यन्त दुस्खी छौं, तर हाम्रो उद्देश्य कसैको भावना र संवेदनामा ठेस पु़याउने कदापि थिएन । सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठान नेपाली साहित्यको प्रगति र उत्थानमा सदैव समर्पित रहने छ ।

जीवा लामिछाने
अध्यक्ष,
खेमलाल( हरिकला लामिछाने प्रतिष्ठान
रत्ननगर, चितवन