६ बैशाख २०८१, बिहीबार
Follow Us

सर्वोच्चको आदेश : वर्षको ६ पटक घरेलु मदिरा उत्पादन गर्न दिनु

नेपालब्रिटेन संवाददाता
१३ आश्विन २०७७, मंगलवार ११:४८

काठमाडौं । सर्वोच्च अदालतले घरेलु मदिरा उत्पादनमा पूर्ण प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ । सर्वोच्चले घरेलु मदिरा उत्पादनमा पूर्णरुपमा रोक नलगाई वर्षको ६ पटक सम्म मदिरा उत्पादन गर्न दिने फैसला गरेको हो ।

न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले गरेको फैसलाको पूर्णपाठमा एकपटकमा पाँच लिटर मदिरा र १० लिटर जाँड घरेलु रूपमा उत्पादन गर्न दिने उल्लेख छ ।

सर्वोच्चले मदिरा ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार नै यस्तो आदेश दिएको हो । आदेशमा भनिएको छ,‘ मदिरा ऐन २०३१ को दफा ७ अनुसार निजी उपयोगका निमित्त तोकिएको मात्रामा रक्सी वा जाँड बनाउन पाउने व्यवस्था गरेको देखिन्छ, मदिरा निययमहरू २०३३ को नियम ७ मा उल्लेख भएअनुसार एकपटकमा ५ लिटरसम्म रक्सी र १० लिटरसम्म जाँड बनाउन दिनू । वर्षको ६ पटकसम्म मात्रै बनाउन दिनू ।’

यो फैसला अनुसार अब घरेलु मदिरा उत्पादन गर्नेले वर्षभरिमा ३० लिटर मदिरा र ६० लिटर जाँड उत्पादन गर्न पाउने छन् ।