७ बैशाख २०८१, शुक्रबार
Follow Us

कोषको रकमले विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न सरकारलाई निर्देशन

नेपालब्रिटेन संवाददाता
१३ आश्विन २०७७, मंगलवार १२:११

काठमाडौ । संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरी उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक जुनसुकै कारण अलपत्र परेमा पनि कोषको रकमबाट उद्धार निर्देशन दिएको हो ।

त्यसका लागि अलपत्र परेका नेपाली फर्काउन तयार निर्देशिक संसोधन गर्न समेत समितिले भनेको छ । समितिले रोजगारी गुमेर अलपत्र नागरिकलाई सुरक्षित फर्काउन पररागष्ट्र र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरी उडान संख्या थप गर्न पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

समितिले घरेलु श्रमिकको रुपमा नेपाली श्रमिक पठाउने ठोस कानुन र नेपाल र सम्बन्धित रोजगारदाता मुलुकबीच दुई पक्षिय सम्झौता नभएसम्म नपठाउन पनि भनेको छ । घरेलु कामदारको सेवा, शर्त र सुरक्षा सम्बन्धमा छुट्टै र ठोस कानून व्यवस्था रहेको अवस्थामा भने पठाउन सकिने समितिको भनाइ छ ।

ठूलो रकम लिएर नेपालीहरुलाई अवैध बाटोबाट लग्दै मानव बेचबिखन जस्तो गम्भिर आपराधिक कार्यमा संलग्न बैदेशिक रोजगार ब्यवसायीको दर्ता खारेज गरी कारवाही गर्न पनि समितिले निर्देशन दिएको छ । अवैध तरिकाबाट पठाउने कार्यमा संलग्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालय र सम्बन्धित निकायका कर्मचारीमाथि छानबिन गर्न पनि समितिले भनेको छ ।