८ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिकी राष्ट्रपति चुनावको पहिलो टेलिभिजन बहस आज

नेपालब्रिटेन संवाददाता
१४ आश्विन २०७७, बुधबार ०४:०७

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर तीनमा हुने राष्ट्रपति चुनावको पहिलो टेलिभिजन बहस आज हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार पूर्व उपराष्ट्रपति जो बाइडेन पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।

बहस कार्यक्रम फक्स न्यूजका प्रस्तोता क्रिस वालसले सञ्चालन गर्नेछन् । उनले सन् २०१६ मा ट्रम्प र हिलारी क्लिन्टनबीचको बहस सञ्चालनबाट चर्चा बटुलेका थिए ।

९० मिनेटको बहसमा विभिन्न विषयमा १५ मिनेटको समय सीमामा उम्मेदवारले आफ्नो पक्षमा धारणा राख्नेछन् । दशौं लाख अमेरिकीले यो बहस हेर्ने अनुमान गरिएको छ ।

बहसमा कोरोना भाइरसको महामारी, अर्थतन्त्र, अस्वेतमाथिको ब्यवहार सहितका विषय केन्द्रमा रहनेछन् । स्टुडियोमा भने सामाजिक दुरी राखेर सीमित मानिसलाई मात्रै सहभागी गराइँदैछ ।

राष्ट्रपति ट्रम्पले आयकर छली गरेको रिपोर्ट प्रकाशित गरेपछि हुन लागेको यो डिबेटलाई महत्वपूर्ण रुपमा हेरिएको छ । बहस सुरु हुनु भन्दा केही घण्टाअघि जो बाइडेन र उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसले आफ्नो कर सम्बन्धी विवरण सार्वजनिक गरेका छन् ।

निर्वाचनको मत सर्वेक्षणहरुमा बाइडेन अघि देखिएका छन् । ट्रम्पले बाइडेनमाथि कार्यक्रममा पनि व्यक्तिगत आक्रमण गर्न सक्ने अनुमान गरिएको छ ।