१२ बैशाख २०८१, बुधबार
Follow Us

अनलाइन प्रणालीमार्फत श्रम स्वीकृति दिन सुरु

नेपालब्रिटेन डट कम्
३ पुष २०७३, आईतवार १२:२५

काठमाडौं । आजदेखि अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारीमा जानेलाई पूर्व श्रम स्वीकृति दिन सुरु गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले श्रमग्राम ताहाचलमा एक कार्यक्रमबीच अनलाइन प्रणालीको सुभारम्भ गर्नुभयो ।
पूर्व श्रम स्वीकृति आजबाटै अनलाइन प्रणालीमार्फत दिइनेछ भने हप्ता दिनपछि अन्तिम श्रम स्वीकृति समेत अनलाइनबाट दिइने व्यवस्था मिलाइनेछ ।
मेनपावर कम्पनीले आफ्नै ‘युजर नेम’ र ‘पासवर्ड’ खोलेर वैदेशिक रोजगार विभागलाई युजरनेमको जानकारी दिनुपर्छ । सोही आधारमा सो युजरनेमबाट आएका विवरणलाई विभागले स्वीकृति प्रदान गर्नेछ ।
अहिले श्रम स्वीकृति लिन विभागको काठमाडौँ कार्यालय, ताहाचलमा घन्टौ लाइनमा लाग्नुपर्ने बाध्यता रहेको छ । यो प्रणालीको सुरुवातसँगै त्यो बाध्यता हट्दै जानेछ ।
बिमा रकम, अभिमुखीकरणको तालिमको रकम, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई तिर्नुपर्ने कल्याणकारी कोषको रकमलगायतका सबै विवरण अनलाइन प्रणालीमार्फत हुनेछ ।
गलत नामावली, नक्कली बिमाजस्ता समस्या समेत हटाउन यसले भूमिका खेल्ने विश्वास लिइएको छ ।
मन्त्री गुरुङले अनलाइन प्रणालीको लामो समयको चाहनाले पूर्णता लिएको बताउँदै यो प्रणालीले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा श्रम तथा रोजगार राज्यमन्त्री दिलीप गच्छदारले स्वीजरल्यान्ड सरकारको सहयोगमा यो प्रणाली विकास गर्न सम्भव भएको बताउँदै सहयोगका लागि धन्यवाद दिनुभयो ।
नेपालका लागि स्वीजरल्यान्डका राजदूत योर्ग ज्योभानी फ्रिडेनले श्रम र रोजगारको क्षेत्रमा आफ्नो देशले नेपाललाई सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत स्वीजरल्यणन्डको सहयोगमा सुरक्षित आप्रवास परियोजनाको रु पाँच करोड सहयोगमा अनलाइन प्रणाली विकास गरिएको हो ।