१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काँग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरुको स्वाब संकलन

नेपालब्रिटेन संवाददाता
१५ आश्विन २०७७, बिहीबार १२:३०

काठमाडौं । नेपाली काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्य र कार्यालय कर्मचारीको पिसिआर परीक्षणका लागि बिहीबार स्वाब संकलन गरिएको छ । आउँदो सोमबार १९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय सानेपामा नेता तथा कर्मचारीको स्वाब संकलन गरिएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र विजय गच्छदार, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, शेखर कोइराला, गगन थापा, प्रदीप पौडेल, नविन्द्रराज जोशीलगायतले स्वाब दिएका छन् । ७७ केन्द्रीय सदस्यसहित १५९ जनाको स्वाब संकलन गरिएको छ ।

११७ सदस्यीय काँग्रेस केन्द्रीय समितिका अधिकांश पदाथिकारी तथा केन्द्रीय सदस्यले पिसिआर परीक्षणका लागि स्वाब दिएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । नेताका सुरक्षा गार्ड, गाडी चालकको पनि पिसिआर परीक्षणका लागि स्वब लिइएको छ । विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पिसिआर टेस्टका लागि व्यवस्था गरिएको थियो ।

टेकुस्थिति इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) बाट मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलको नेतृत्वमा गएको माइक्रो बायोलोजिस्टद्वय नविन पोखरेल र प्रशन्त राउतको टोलीले नेताहरुको स्वाब संकलन गरेको थियो ।

नेताहरुको रिपोर्ट शनिबार आउने मेडिकल टेक्नोलोजिस्ट पौडेलले बताए । पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई बैठकमा सहभागी हुनुअघि कोराना परिक्षण गर्नुपर्ने निर्देशन पार्टी केन्द्रीय कार्यसमितिले यसअघि नै सूचना जारी गरेर दिएको थियो ।

यता सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको भने स्वाब संकलन गरिएको छैन । सभापति देउवा र महामन्त्री कोइरालाले केही दिनअघि मात्र पिसिआर रिपोर्ट नेगेटिभ आएकाले स्वाब संकलन नगरिएको पार्टी कार्यालयले जनाएको छ ।