१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सन्चारमन्त्रीको सिक्किम र दार्जिलिङमा जग्गा घर

नेपालब्रिटेन डट कम्
४ पुष २०७३, सोमबार ०३:१४

काठमाडौं । सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषदमा रहेका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सन्चारमन्त्री कार्कीद्वारा प्रस्तुत् सम्पत्ति विवरणअनुसार ओलढुंगा, माम्खा गाविस–१ मा स्व. रत्नदेवीको नाममा खेती गर्न छोडिएको ४ रोपनी जमिन, मामाबाट स्वामित्व हस्तान्तरण भइ आएको छोरोको नाममा रहेको भक्तपुर झौखेल–१ स्थित १० आना दुई पैसा जमिन र उनकै नाममा भक्तपुर सिपाडोल–१ मा ९ आना जमिन रहेका छन् ।

उनले आफ्नी पत्नीको स्वामित्वमा भारतको सिक्किम र दार्जिलिङमा केही जग्गा र घरहरु रहेको उल्लेख गरेका छन् । मन्त्री कार्कीको नाममा विभिन्न बैंकमा गरी रु १४ लाख नगद मौज्दात रहेको छ । यस अतिरिक्त उनीसँग १० तोला सुन रहेको छ ।

वनमन्त्री भण्डारीको सम्पत्ति
वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले प्रस्तुत् गरेको सम्पत्ति विवरणअनुसार उनकी श्रीमती अन्जना (उप्रेती) भण्डारीका नाममा पैतृकस्रोतबाट प्राप्त काठमाडौंमा अढाइतले घरसहित घडेरी र आमा श्रीमती दमयन्ती भण्डारीका नाममा तनहुँको पुर्काेटमा तीनतले घरघडेरी रहेका छन् ।

त्यस्तै, पैतृकस्रोेतबाट प्राप्त श्रीमतीका नाममा काठमाडौंमा २६५.९ वर्गमिटर र आमाका नाममा तनहुँमा २९ रोपनी जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । मन्त्री भण्डारीसँग ४५ तोला सुन र ६० तोला चाँदीका साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा रु दुई लाख ५५ हजार नगद रहेको छ ।
उनले विभिन्न व्यक्तिबाट रु ३ लाख ५० हजार ऋण लिएको र ११ लाख ऋण दिएको पनि उल्लेख गरेका छन् । मन्त्री भण्डारीको नाङल क्रसर ढुंगा उद्योग काभ्रेपलाञ्चोकमा १० प्रतिशत शेयर रहेको छ ।

मन्त्री नायकको सम्पत्ति
कानुन, न्याय तथा संसदीय मालिमामन्त्री अजय शंकर नायकले प्रस्तुत् गरेको सम्पत्ति विवरणमा आमा ईश्वरीदेवीको नाममा सिराहा, बड्हरामाल– ६मा ८ कट्ठा जग्गा र आफ्नै नाममा सिराहामै १७ धुर जग्गा रहेको देखाइएको छ ।

त्यस्तै, आमाकै नाममा सिराहामा पाँच बिगाहा जग्गा र बाजे सरभुग नायकको नाममा सिराहा, उदयपुर र धनुषमा चार बिगाहा जग्गा रहेको उनले उल्लेख गरेका छन् । यी सबै पैतृक सम्पत्ति भएको उल्लेख छ । मन्त्री नायकसँग सुन १५ तोला, चाँदी ४० तोला, नगद रु दुई लाख र एभरेस्ट बैंकमा रु दुई लाख नगद रहेको विवरणमा उल्लेख छ ।

मन्त्री गिरीको सम्पत्ति
सिँचाइमन्त्री दीपक गिरीले आफ्नो सम्पत्ति विवरणमा राजधानीमा दुई रोपनी नौ आना र राजधानीबाहिर ६ बिगाहा तीन कट्ठा जमिन भोगचलनमा रहेको उल्लेख गरेका छन् ।

काठमाडौंको टोखा चण्डेश्वरी नगरपालिका–४ मा दुई रोपनी नौ आना जग्गा र सो जग्गामा बनेको तीनतले पक्की घर र दाङ, हेकुली वडा नम्बर–९ मा ६ बिगाहा तीन कट्ठा जग्गा र सो जग्गामा पाँचओटा घर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

सम्पत्ति विवरणमा ५० तोला सुन, झन्डै दुई किलो चाँदी र तीन सेट हीराका गहना पैतृकसम्पत्तिबाट आर्जन भएको उल्लेख छ । त्यसैगरी, उनको ग्लोबल बैंकमा रु तीन लाख ९४ हजार नगद मौज्दात रहेको छ । यस अतिरिक्त स्वर्गद्वारी क्रसर उद्योगमा १० प्रतिशत र योगी ब्रदर्स क्रसर उद्योगमा २५ प्रतिशत सेयर र एक सवारीसाधन (स्कोरपिया) रहेको उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
– रासस