१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सांगठनिक संरचना परिवर्तनको प्रकृयालाई अघि बढाउने एनआरएनए युरोप बैठकको निर्णय

नेपालब्रिटेन डट कम्
१८ आश्विन २०७७, आईतवार २०:४६

एनआरएनए नयां ढांचामा लैजान वहसएनसीसीहरुमा व्यापक छलफल हुने

लन्डन । गैर आवासीय नेपाली संघको सांगठनिक संरचना परिवर्तनका लागि वहस तीव्र भएको छ । १३ औं एनआरएन युरोप क्षेत्रीय तथा ११ औं महिला फोरम बैठक र दोश्रो ज्ञान सम्मेलन २०२० को दोश्रो दिन आइतबार यसबारे थप छलफल भएको छ ।

दिगो, पारदर्शी, स्मार्ट एनआरएनए र भविष्य विषयक अन्तरक्रियामा संघका पदाधिकारी र आइसीसी सदस्यहरुले परम्परागत होइन, स्मार्ट एनआरएनको खांचो औंल्याए ।

एनआरएनए अध्यक्ष कुमार पन्तले एनआरएनए कता जांदैछ भन्नेबारे अवगत गराएका थिए । उनले संस्थाभित्र केही विकृति रहेका र त्यसलाई स्वीकार्नुपर्छ भन्दै यसको अन्त्यका लागि निशुल्क सदस्यताको खांचो औंल्याए । संघ अब परिवर्तन हुने र यसलाई पुरानै ढांचामा राख्न सकिंदैन् भन्दै अध्यक्ष पन्तले विज्ञ, महिला, युवा र दक्ष जनशक्तिलाई पनि नेतृत्व चयनमा सहभागी गराउन आवश्यक रहेको बताए । एनआरएनको पारदर्शीता र आर्थिक रुपमा सशक्त बनाएर लैजान आफूहरु कटिवद्ध भएको उनको भनाइ थियो ।

संघका कोषाध्यक्ष महेश श्रेष्ठले संघले आर्थिक पारदर्शीता कायम गर्न थालेका गतिविधिबारे प्रकाश पारे । नयां कार्यसमितिले आर्थिक अनुशासन कायम गर्न तीन तीन महिनामा आन्तरिक अडिट, एक वर्षमा वाहय अडिट, बजेटिङ शुरु गरेको आदिबारे जानकारी दिए ।

आर्थिक पारदर्शीता भएमात्र संघलाई ‘फ्रि मेम्बरसीप मोडल’ मा लैजान विश्वास जितिने उनको धारणा थियो । आर्थिक अनियमितता अन्त्यका लागि निशुल्क सदस्यता दिन आवश्यक रहेको जोड दिंदै श्रेष्ठले संघसंग आम्दानीका विभिन्न श्रोत रहेको उल्लेख गरे । तर, संघ ११ करोडको डिफिसिटमा रहेकाले नैतिक रुपमा चुनौति भने रहेको उनले औंल्याए ।

एनआरएनए सचिव गौरीराज जोशीले सदस्यहरुको लाभका लागि स्मार्ट एनआरएनए कसरी बनाउने भन्नेबारे प्रष्टयाए । जोशीले संघको वेव पोर्टल, क्राउड फन्डिङ, मोबाइल एप, मर्चेन्ट भेण्डर, डिजिटल आइडी कार्ड, सदस्यता भेरिफिकेसन सिस्टम आदिबारे बताए ।

आइसीसी सदस्य भक्त गुरुङले सञ्चालन गरेको कार्यक्रममा महासचिव डा। हेमराज शर्माले एनआरएनए दीगो संगठन, परिणाममुखी एनआरन, बहुआयामिक एनआरएन, सिप, ज्ञान र नवप्रवर्धनका लागि एनआएन उत्तरदायी र पारदर्शी एनआरएन, व्यापक सहभागिता हुनुपर्नेमा जोड दिए । उनले नयां निर्वाचन प्रक्रिया, शून्य सदस्यता शुल्क, शून्य दर्ता शुल्क, अनलाइन भोटिङ, स्मार्ट एनआरएन अबको मुख्य एजेण्डा रहेको बताए ।

संघको महत्वकांक्षी परियोजना १० अर्बको ‘इमर्जिङ नेपाल फण्ड’ बारे चार्टर्ड अकाउन्टेन्ट ए आर भट्टराईले जानकारी दिए । गैर आवासीय नेपालीबाट पूँजी र ज्ञान भित्रयाउने भनेर सन् २०१८ मा कन्सेप्ट ल्याइएको बताउंदै उनले नेपालको विकासका लागि गैर आवासीय नेपालीलाई सहभागी गराउने मुख्य उद्देश्य रहेको जनाए । सन् २०१९ मा काठमाडौंमा भएको लगानी सम्मेलनमा सरकार र संघबीच एमओयू भएको जनाउंदै उनले ४० जनाको स्टेरिङ कमिटीले काम शुरु गरेको बताए ।

लिमिटेड लायबिलिटी कम्पनीमा दर्ता गरि पब्लिकलाई शेयर दिने योजना सुनाउंदै भट्टराईले वातावरण मैत्री प्रोजेक्ट बनाइने उल्लेख गरे । सामूहिक लगानी भनेर दर्ता नभएपनि साना र ठूला व्यवसायीलाई लगानीको अवसर, रोजगारी सिर्जना, रेमिटेन्सलाई उत्पादनमा सदुपयोग, नेपालको विकासमा सानो पूँजीले पनि प्रभाव पारोस् भन्ने उद्देश्य परियोजनाको रहेको पनि भट्टराईले प्रष्टयाए ।

एनआरएनए युरोप उपसंयोजक एवं सत्र संयोजक कृष्ण तिमिल्सिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा तिमिल्सिनाले संघको नीतिगत सुधारका लागि केन्द्रिय नेतृत्वबाट आएका प्रस्तावहरु महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा विभिन्न देशका आइसीसी सदस्यहरुले विभिन्न जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए । आइसीसी सदस्य दयानिधि सापकोटाले स्वागत मन्तव्य र अनुजा प्रधानले धन्यवाद दिएकी थिइन् ।

बैठक पछि जारी निर्णय अनुसार निशुल्क सदस्यता, अनलाइन भोटिंग, स्मार्ट एनआरएनए जस्ता अवधारणा निशुल्क सदस्यता, अनलाइन भोटिंग, स्मार्ट एनआरएनए जस्ता अवधारणा माथि व्यापक छलफल गरि अघि बढइने भएको छ ।

सम्मेलनको अन्त्यमा जारी घोषणापत्रको बुँदा १४ मा ‘स्थापना भएको १७ वर्ष पुरा हुंदै गर्दा एनआरएनएलाई रुपान्तरण गर्नु पर्ने आवश्यकताबारे यो बैठकमा व्यापक छलफल गरियो।एनआरएनको वर्तमान नेतृत्वले अगाडी सारेको निशुल्क सदस्यता, अनलाइन भोटिंग, स्मार्ट एनआरएनए जस्ता अवधारणाबारे सबै एनसीसीहरुमा व्यापक छलफल गरी एनसीसीहरुको स्वायत्तता, आर्थिक अवस्था, दिगोपना तथा संस्थाको भविष्य लगायतका विषयलाई समेत ध्यानमा राखी अगाडी बढ़ाउन यो बैठक एनआरएन केन्द्रलाई अनुरोध गर्ने निर्णय गर्दछ’ उल्लेख छ ।

१८ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए १३ औं युरोपेली बैठक सम्पन्न (घोषणापत्र सहित)