६ बैशाख २०८१, बिहीबार
Follow Us

कोभिडका बिरामी कोही लामो समयसम्म पनि किन निको हुँदैनन् ?

नेपालब्रिटेन डट कम्
२२ आश्विन २०७७, बिहीबार ०२:१९

बेलायतका ६३ वर्षीय वृद्ध अनिल पटेल एक सय ४९ दिनपछि गत सोमबार कोरोना भाइरसको संक्रमणबाट निको भए । उनी बेलायतमा लामो समयसम्म संक्रमित रहेर निको हुनेमध्ये एक बिरामी हुन् । कोभिड महामारी खेपिरहेको विश्वमा संक्रमणको दर र जोेखिम भने अझै जोखिमपूर्ण बन्दै गएको छ । योसँगै सामान्यतः १४ दिनभित्र निको हुने भनिएको कोभिड लामो समयसम्म निको नहुने र दीर्घरोगका रूपमा समेत देखिन थालेको छ । बेलायत, अमेरिका, भारत, ब्राजिल, मेक्सिकोजस्ता अत्यधिक संक्रमित रहेको देशमा लामो समयसम्म कोभिड निको नहुने केसहरू पनि बढिरहेको पाइन्छ ।

कोभिडलाई सामान्य संक्रमण अर्थात् ज्वरो, रुघाखोकी, मांशपेसी दुख्ने र छोटो समयमै निको हुने रोग भनिए पनि पछिल्लो समय अलिकति हिँँडेपछि थकान महसुस हुने, कडा दुखाइ, श्वास फेर्न गाह्रो हुनेजस्ता विभिन्न समस्या लिएर महिनौँसम्म अस्पताल बस्नुपर्ने बिरामीको संख्या पछिल्लो समय निकै बढिरहेको पाइन्छ । यसलाई चिकित्सकहरूले दीर्घ कोभिडको संज्ञा दिएका छन् । सामान्यतः कोभिड संक्रमण दीर्घ रोगका रूपमा पुष्टि नभए पनि लामो समयसम्म रहने र मुख्य स्वास्थ्य समस्याका रूपमा देखिएकाले यसलाई दीर्घ कोभिड मान्न थालिएको छ ।

शारीरिक लक्षण जस्तै, श्वास फेर्न गाह्रो हुने, सुख्खा खोकी लाग्ने, जोर्नी वा मांशपेसी दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध थाहा नपाउने, मुटु फोक्सो वा मिर्गौलामा आउने समस्या लामो समयसम्म रहने र बिस्तारै मानसिक समस्या, डिप्रेसन, चिन्ता र स्पष्ट रूपमा सोच्न नसक्नेजस्ता समस्या देखिन थालेका छन् ।

—-
गत मे महिनामा इटालीमा त्यहाँको सर मन्टो हस्पिटलमा रहेका बिरामीमा गरिएको अध्ययनअनुसार, अधिकांश जटिल समस्या देखिएका बिरामी निको हुन लामो समय लागेको पाइएको थियो । यस्तै, लक्षणहरू निको भइसकेपछि पनि लामो समय थकान महसुस भइराख्ने र केही समय अन्तरालमा फेरि स्वास्थ्य समस्या देखिने अध्ययनले देखाएको थियो । जुन पछिल्लो चरणमा भइरहेका अध्ययनले देखाइरहेका छन् । तर, भाइरसले कसरी दीर्घ कोभिड उत्पन्न गर्छ भन्ने हालसम्म पुष्टि भने भइसकेको छैन । केही चिकित्सकले सामान्य उपचारको माध्यमबाट शरीरबाट पूर्णरूपमा भाइरस ननिस्कने र नशा, आन्द्रा, पेटजस्ता अंगमा भाइरस जीवित भएमा पछिसम्म लक्षण देखिने बताएका छन् । कोरोना भाइरसले शरीरका विभिन्न किसिमका कोषलाई एकैसाथ संक्रमण गर्छ र त्यसको प्रतिरोध गर्न प्रतिरक्षा प्रणाली एकैसाथ उच्च तवरले सक्रिय हुन्छ । त्यसले पनि शरीरभरि असर पु¥याउन सक्छ । यस्तै, कोभिड संक्रमणपछि प्रतिरक्षा प्रणाली पहिलेकै अवस्थामा नफर्किने हुँदा स्वास्थ्य समस्या देखिने गर्छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण शरीरमा पर्ने असर व्यापक हुने भएकाले मुटु, मिर्गाैला र फोक्सोमा विभिन्न समस्या निम्तिने जनाएको छ । दीर्घ कोभिडबाट संसारभरिमा प्रभावित व्यक्ति पत्ता लगाउन संसारभरिका संक्रमितमा अनुसन्धान आवश्यक छ । तर, पछिल्लो समय अस्पतालमा भर्ना भएका केही सीमित बिरामीमा गरिएका अनुसन्धानका अनुसार ८० प्रतिशतभन्दा बढीले दीर्घ कोभिडको समस्या भोगिरहेका छन् । बिबिसीले प्रकाशित गरेको एक लेखमा बेलायतमा ४० लाख मानिसले प्रयोग गर्ने ‘कोभिड सिम्टम ट्रयाकर एप’ले ३० दिनपछि पनि २१ प्रतिशत मानिसमा भाइरसको लक्षण देखिएको उल्लेख छ । यस्तै, संसारभरि गरिएका विभिन्न अध्ययनमा पछिल्लो समय दीर्घ कोभिड संक्रमितको संख्या बढिरहेको पाइएको छ ।