७ बैशाख २०८१, शुक्रबार
Follow Us

जापानी सम्राटद्वारा प्रीतिभोज रद्द

नेपालब्रिटेन डट कम्
४ पुष २०७३, सोमबार ०९:३७

टोक्यो । रुघा, खोकी र सर्दीका कारण जापानका सम्राट आकि हितोले सोमबार आयोजित प्रीतिभोज रद्द गर्नु भएको छ । सम्राटको शुभजन्मोत्सवको पूर्वसन्ध्यामा प्रत्येक वर्षको अन्ततिर प्रीतिभोज समारोह मनाइने गरेको थियो ।
राजप्रासाद आन्तरिक ब्यवस्थापन निकाय (इम्पेरियल हाउसहोल्ड एजेन्सी) ले जनाए अनुसार सम्राट आकि हितोलाई गतहप्तादेखि नै रुघा,खोकी र सर्दीले सताएर बिरामी पर्नु भै उहाँ उपचार्रात हुनुहुन्छ ।
आगामी शुक्रबार सम्राट ८२ वर्ष पूरा गरी ८३ औं वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । उहाँको ८३औं शुभजन्मोत्सव समारोहका कार्यक्रममा भने कुनै परिवर्तन गरिएको छैन ।
आइतबार आयोजित प्रीतिभोज समारोहमा जापानी प्रधानमन्त्री सिन्जो आबेलगायत देशका उच्चपदस्थ ब्यक्तित्व सबैलाई आमन्त्रण गरिएको थियो ।
वृद्धावस्था र बिग्रँदो स्वास्थ्य अवस्थाका कारण केही वर्ष यता सार्वजनिक समारोहमा उपस्थित नरहने र देशवासीका नाममा पनि ज्यादै कम सम्बोधन गर्नुहुने सम्राटबाट गत अगस्टमा एउटा अप्रत्यासित भिडियो सन्देश आएको थियो ।
सो भिडियो सन्देशमा उहाँले आफ्नो अति बृद्धावस्था, रोगी र जीर्ण शरीरका कारण आफ्नो कत्र्तव्य निर्वाह गर्न नसक्ने भएकाले गद्दी परित्याग गरी जेष्ठपुत्र युवराजलाई सम्राट बनाउने इच्छा प्रकट गर्नु भएको थियो ।
तर, राजप्रासाद र उत्तराधिकारी सम्बन्धि पुरानो ऐन, कानूनमा संसोधन वा परिवर्तन नगरी सम्राटको सो इच्छा पूरा गर्न कानूनतः बाधा परेको थियो । सम्राटको सो भिडियो सन्देश सार्वजनिक भएपछि जापानमा धेरै दिनसम्म खैलाबैला मच्चिएको थियो ।
त्यसपछि, सम्राटको इच्छा पूरा गर्ने अभिप्रायले राजप्रासाद र उत्तराधिकारी सम्बन्धि पुरानो ऐनमा संसोधन गर्ने प्रयोजनबश सरकारीस्तरबाट कानून बिज्ञहरुको एक परमार्शदातृ समूह गठन भएको थियो ।
अब एक नयाँ र बिशेष ऐन तर्जुमा गर्ने सम्बन्धमा हाल सो परमार्शदातृ समूहले गहन छलफल र गृहकार्य गरिरहेको जनाइएको छ ।
राजप्रासाद र उत्तराधिकारीको नियुक्तिका सम्बन्धमा बहूबिबादित विषयबस्तुमा प्रबेशै नगरी मध्यमार्गको खोजीगर्ने र महिला सम्राटको पनि सम्भाब्यता अध्ययन गरी सोही अनुरुप ऐन, कानूनको प्रस्तावना गर्ने दिशामा परमार्शदातृ समूहले छलफल गरि रहेको बताइएको छ ।