१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

नेपालब्रिटेन संवाददाता
२५ आश्विन २०७७, आईतवार ०९:३३

काठमाडौं । कर्णाली प्रदेशमा नेकपाका आफ्नै सांसदहरुले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने भएका छन् । प्रदेश दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही छन् । सांसदहरुले अविश्वासको प्रस्ताव भोलिसम्ममा प्रदेशसभामा दर्ता गराउने तयारी गरेका छन् ।

सांसदहरुले मुख्यमन्त्री शाहीले विधिधान अनुसार काम नगरेको, सरकारको काम प्रभावकारी नहुँदा पार्टी बदनाम भएको जस्ता आरोप लगाएका छन् । प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ को उपनियम १ बमोजिम संसदीय दलका नेता मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको जनाएका छन् ।

३३ जना संसद रहेको प्रदेशमा १८ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता हुन लागेको हो । कर्णाली प्रदेशमा सरकारले काम गर्न नसकेको भन्दै पार्टीभित्रैकै सांसदहरु सरकारको कामसँग असन्तुष्ट रहेका छन् ।

उनीहरुले अविश्वासको प्रस्ताव पार्टीका प्रमुख सचेतक गुलाबजंग शाहलाई बुझाइसकेका छन् । अविश्वास प्रस्तावको पक्षमा २३ जना सांसद रहे पनि कतिपय मन्त्री र मुख्य सचेतकले प्राविधिक कारणले हस्ताक्षर नगरेको बताइएको छ ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरु यमलाल कँडेल, चन्द्रबहादुर शाही, करवीर शाही, कुर्मराज शाही, अम्बरबहादुर थापा, सुशीलकुमार थापा, मिना सिंह रखाल रहेका छन् ।

त्यसैगरी, दानसिंह परियार, पदमबहादुर रोकाय, पद्मा खड्का, कौशिलावती खत्री, पुष्पा घर्ती विष्ट, राजु नेपाली, धर्मराज रेग्मी, खड्गबहादुर खत्री, ठम्बरबहादुर बिष्ट, बद्मी क्वारी बोहोरा र देवी ओलीले पनि प्रस्तावमा हस्ताक्षर गरेका छन् ।