११ बैशाख २०८१, मंगलवार
Follow Us

कांग्रेस कार्यालयमा कर्मचारीलाई संक्रमण, २५ गतेको बैठक पनि अनिश्चित

नेपालब्रिटेन संवाददाता
२५ आश्विन २०७७, आईतवार ०९:४२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा कार्यरत एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको छ । असोज २२ गते गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । कार्यालय सहयोगीलाई कोरोना पुष्टि भएसंगै असोज २५ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक समेत अनिश्चित बनेको छ ।

बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका र समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गर्ने तयारी भएको बुझिएको छ । कार्यालय सहयोगी एक महिलामा कोरोना पुष्टि भएपछि केन्द्रीय कार्यालयका कर्मचारीहरु समेत त्रसित बनेका छन । चिया लिएर सबै कोठामा पुग्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालयका कर्मचारीमा त्राश पैदा भएको हो ।

यस अघि असोज १९ गते डाकिएको केन्द्रीय समिति बैठकका लागि असोज १५ गते २७० जना भन्दा बढी नेता, कर्मचारी,गाडी चालक र सुरक्षाकर्मीको पीसीआर परीक्षण गरिएको थियो । सोही परीक्षणमा पूर्वसहमाहामन्त्री अर्जुन नरसिंह केसी, पूर्वस्वास्थ्य मन्त्री गगन थापा, सम्भूलाल श्रेष्ठलगायत करिव एक दर्जन केन्द्रीय सदस्य र केही कर्मचारीको रिपोर्ट पोजेटिभ आएको थियो । नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय समिति बैठक १९ गते स्थिगित गरी २५ गते बोलाइएको थियो । पसीआर रिपोट नआउदै डाकिएको पदाधिकारी बैठकमा केसी र थापा सहभागी थिए ।

नेताहरु कन्ट्रयाक्ट ट्रेसिङमा परेपछि असोज २२ गते केन्द्रीय पदाधिकारी, सदस्य, कर्मचारी र अन्य व्यक्ति गरी डेढ सयभन्दा बढीकोे पीसीआर परीक्षण गरिएको थियो । अहिले पीसीआर परिपोट आउनेक्रम जारी छ ।