१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिन ओलीलाई प्रचण्डको आग्रह

sarusaru
२६ आश्विन २०७७, सोमबार ०७:३०

काठमाडौं। कर्णाली प्रदेश सरकार विरुद्ध नेकपा सांसदहरुले नै प्रदेशसभामा अविश्वासको प्रस्ताव गर्दा गराएपछि उत्पन्न परिस्थितिका विषयमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटरमा झण्डै एक घण्टा भएको छलफलमा अध्यक्ष प्रचण्डले आफ्नै सरकार विरुद्ध ल्याएको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।

आक्रोशित रुपमा प्रस्तुत भएका प्रचण्डले पार्टी एकता नयाँ तरिकाले अगाडि बढिरहेका बेला यस्ता गतिविधिले एकता प्रक्रिया अवरुद्ध हुने र अविश्वासको वातावरण सृजना हुने भन्दै अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

‘कर्णाली प्रदेश सरकार विरुद्ध ओली कमरेडकै निर्देशनमा अविश्वासको प्रस्ताव आएको भन्नेमा शंका रहेन,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘अध्यक्षले ओली कमरेडलाई पार्टी एकता नयाँ तरिकाले अगाडि बढिरहेका बेला यस्ता गतिविधिले एकता प्रक्रिया निष्कर्षमा पुर्याउन सहयोग गर्दैन, त्यसैले अविश्वको प्रस्ताव फिर्ता लिने गरी निर्देशन दिन आग्रह गर्नु भएको छ।’

प्रचण्डले एकताको कार्यभार पूरा नहुँदै विगतको सहमति नै तोड्ने गरी कदम चाल्दा नकारात्मक सन्देश जाने उल्लेख गर्दै स्थिरता दिने वाचा जनतामा गरेको भएपनि आफ्नै सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदा जनतामा नकारात्मक सन्देश जाने उल्लेख गरेका थिए।

आइतबार कर्णाली प्रदेशसभाका १८ जना सदस्यले मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव गर्दा गराएपछि नेकपाभित्रको राजनीति तरंगित बनेको छ। प्रधानमन्त्री ओलीले भने मन्त्रिपरिषद पुनर्गठन चाँडो गर्ने गरी सहमति गर्न प्रचण्डलाई आग्रह गरेको स्रोतले जनाएको छ।
डिसी नेपाल