१४ बैशाख २०८१, शुक्रबार
Follow Us

यूकेमा लिम्बूहरुले चासोक तङनाम मनायो

नेपालब्रिटेन डट कम्
४ पुष २०७३, सोमबार १२:४६

कृष्णकुमार हेम्ब्या
। यूके । किरात याक्थुङ चरम्लुङ यूकेले यो वर्षको चासोक तङ्नाम फेल्थहाम कम्युनिटी कलेजमा सेवा सावा रुद्र तुम्बापोले विधिवत चासोक पूजा गरेर आरम्म गरेका थिए । महागुरु फाल्गुनन्दका अनुयायी सेवा सावा प्रमुख तुम्बापोले माङथानमा भरखरै पाकेका विभिन्न अन्नहरु राखि युमा, थेवा, ताम्भुङ्ना तक्सङ्वा, थुङ्दाङ्मा, फाक्मुरा आदि इष्टमाङहरुलाई चढाउने कार्यहरु भयो ।

कार्यक्रम सफल बनाउन केवाईसि यूके (ग्रेटर लण्डन जेष्ट शाखा) का अध्यक्ष चिरेन्द्र लावुङलगायतका कार्य समिति सदस्यहरुको सक्रिय भूमिका रहेको थियो । पाहुना सत्कारको जिम्मा संस्थाका महिला कमिटी सदस्यहरुले लिएका थिए । पूजामा लालबहादुर चङवाङ, स्वागतमा उपाध्यक्ष लिला सेलिङ मावो, संस्कृतिक कार्यक्रमको संयोजन पूर्ण सावादेन ‘कान्छा’ गरेका थिए ।

कार्यक्रममा बिभिन्नि शाखाहरुले वामुरिक, याङ्वेन, चेम्बीगिक, माकी÷चेम्बी ङःमा, तोङवालगायत याक्थुङ खानपानहरु बनाएर ल्याएका थिए । खाना खानु भन्दा पहिले तुम्याहाङ शेरबहादुर इस्पोले याक्थुुङ संस्कार अनुसार पाहुनाहरुलाई हेना मेप्मा गरेका थिए ।

कार्यक्रममा यालाङ, केलाङ प्रमुख अकार्षण थियो । भक्ती आङदेम्वेको अगुवाईमा सुवर्ण नेम्वाङ, अमृता केरुङ, महेश्वरी नेम्वाङ, डम्बर साँवा, सरस्वती नेयङ, युमा एभेङ ु र कवित यक्सोको टीमले यालाङ प्रदर्शन गरेका थिए । सोही दिन यो वर्षको यलम्वरहाङ कप फुटबल र ब्याडमिन्टन प्रतियोगितामा प्रायोजना गर्ने नरेन्द्र नेम्वाङ, ले. श्रीप्रसाद साम्यु मेजर चित्रराज हुक्पा चङवाङ, डम्बर सिंहक, नर थाम्सुहाङ, महेश अनेम, दिलसिं मेन्याङवो, क्याप्टेन बमबहादुर लिवाङ, हस्त सुहाङ, जित मेन्याङवो, भिम वखिम, सुर्य लिम्बू, ईशा ताम्राकार, जुरेन्द्र खजुमलाई सिलाम साक्मा लगाएर सम्मान गरियो । साथै गत सिसेक्पा तङनाममा चटपटे विक्रिबाट आएको १ हजार पाउण्ड चुम्लुङ हिम युकेको लागि आर्थिक सहयोग प्रदान गर्ने पुनम नेम्वाङ, झुमा अनेम फागो र सिता नेम्वाङलाई विशेष सम्मन गरियो । चन्द्रप्रसाद हुक्पा चङवाङ नरकुमारी सेन्दाङ, धनबहादुर लिम्बू, राजेन लिम्बू लोकेन्द्र तवेवङ, गुमानधोज लिम्बू, एकराज नेम्वाङ, डम्बरबहादुर लिम्बू सुवर्ण नेम्वाङ, मान तवेबुङ, जुरेन्द्र खजुम, खेमराज मादेन, कमला सेन्दाङ, चन्द्रकुमार फागो चङवाङलगायत संस्थाको संरक्षक सदस्यहरुलाईपनि सम्मन गरियो ।

महासचिव खगेन्द्र लावती र सह सचिव महेश अनेमले संयुक्तरुपमा कार्यक्रम संचालन गरेका थिए । कार्यक्रमको अन्तमा संस्थाका वरिष्ठ उपाध्यक्ष दिलसिंह मेन्याङवोले पाहुना र उपस्थित सदस्यहरुलाई धन्यवाद तथा युकेवासी सबै लिम्बू तथा परिवारजनहरुमा चासोक तङनाम २०७२ को शुभकामना दिएका थिए ।

कार्यक्रममा चासोक तङनामको सांस्कृतिक महत्वको वारेमा सचिव मान तवेवुङले वोल्नु भएको थियो । उहाँले मुन्धुम अनुसार लिम्बूूहरुका पुर्खा सावा येत्हाङहरु काँचै कन्दमूल खानाले अनेकौ रोगको सामना गर्नु परेको पथ्र्याे । यो समस्याबाट मुक्त पाउन उनीहरुले सर्वशक्तिमान तागेरानिङ्वाफुङ माङको सरण लिए । अन्ततः तागेरानिङ्वाफुङको कृपाले पेना, ताक्मा, तुम्री, पारामा राङ्घामा, लिङ्घामाजस्ता बीउविजन पाएपछि तिनका चेली सिबेरा एःथुक्मा सिबेरा याबुङ्केम्माले काठको खन्ती र अङ्कुसेको सहयोगले भस्मे फांडेर ती बीउ छरी अन्न फलाईन । त्यसपछि नै सावा येत्हाङहरुले खेतीपाती गर्न सिके र त्यो उन्नत अन्नले गर्दा रोगव्याधीवाट छुट्कारा पाउनुका साथै उनीहरुको हरेक क्षेत्रमा उन्नती हुनथाल्यो । खेती गरेर अन्न उत्पादन गर्न सिकाउने चेली सिबेरा एःथुक्मा सिबेरा याबुङ्केम्माको उपकारी कामदेखि अति प्रभावित सावा येत्हाङहरुले उनको सम्मानार्थ पाकेको अन्न पहिला उनलाई चढाएपछि मात्र आफुहरुले खाने वाचा गरे । त्यसैवेलादेखि नै लिम्बूूहरु चासोक.(न्वागी) गर्ने परम्परा थालनी भएको मुन्धुममा वर्णन गरिन्छ । वास्तवमा यो चाडको सम्वन्ध लिम्बूूहरुले आवाद गरेको माटोदेखि सुरु भएको चाखलाग्दो मुन्धुम तुम्याहाङ तवेवुुङले सुनाउनु भएको थियो ।

लिम्वुवानका लिम्बूूहरु नयाँ अन्न पाकेपछि खासगरी सामूहिक भन्दा घरघरमा अनिवार्य न्वागी पूजा गर्दछन् । परापूर्वकालदेखि खेतीपाती गरेर आफ्नो जीवान गुजरा गर्ने हामी किरात लिम्बूहरु, आफूले लगाएको अन्नबालीहरु भित्राउनअघि जीवन–जगतको सृष्टि र तिनको संरक्षरण गर्ने तागेरानिङ्वाफुङ र पुर्खाहरुको पूजाआजा गरी पाकेको नयाँ अन्न चढाई उनीहरुबाट अनुमति लिएर मात्र नयाँ अन्न खाने चलन छ । नयाँ अन्न नचढाई खाएमा गाँड निस्कने, आँखा कान दुख्ने बौलाउनेजस्ता अनेकौ रोगहरु लाग्नसक्ने मुन्धुहरुमा सुन्न पाइन्छ । बिदेशमा बसोवास गर्नेहरुको खेतीगर्ने जमिनको अभाव र गाउँमापनि कतिपयले कृषिको पेशा छोड्दै गएकाले आफै अन्नपात उत्पादन नगरेपछि घरमा पूजा गर्नुभन्दा कुनै माङहिम वा सांस्कृतिक स्थलहरुमा भेला भइ सामूहिक पूजा गर्न चलन बढ्दो छ । सामूहिक पूजाकै लागि भेला हुनथालेपछि त्यो रमाइलो भेटघाटमा खानेपिउने, मनोरञ्जनजस्ता सामूहिक क्रियाकलापहरुले राम्रो अवसर पायो र यसलाई महत्पूर्ण चाड (तङनाम) कोरुपमा लिइएकाले नै चासोक तङनाम भनेर मनाइन्छ ।