१३ बैशाख २०८१, बिहीबार
Follow Us

लिमीको ललोङजोङ्गमा चीनले नेपाली भूमि मिचेकै हो : कांग्रेस नेता शाही

नेपालब्रिटेन संवाददाता
२७ आश्विन २०७७, मंगलवार ०४:३७

काठमाडौं । नेपाली कांग्रेसले हुम्लास्थित लिमीको ललोङजोङ्गमा नेपाली भूमिमा चिनियाँ पक्षले सीमा मिचेर भौतिक संरचना बनाएको दाबी गरेको छ ।

सीमा अवलोकनपछि सदरमुकाम सिमकोटमा आयोजित पत्रकार भेटघाटमा पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता जीवनबहादुर शाहीले नेपाली सीमा अतिक्रमण गरी चीनले नेपालमाथि विस्तारवाद लागू गरेको बताएका हुन् ।

उनले एक ठाउँमा नभई धेरै ठाउँमा चीनले बल मिच्याइँ गरेको पाइएको बताए । चीनले लिमिको लाप्चा क्षेत्रको दाहिने लाप्चामा रहेको १२ नम्बर पिलर पुनर्निर्माण गरेको, ९ नम्बर पिलरलाई मध्य बनाएर आफ्नो घरवार हालेको ७ नम्बर पिलर कता छ पत्ता लगाउने अवस्था नभएको उनले बताए ।

अन्य केही पिलरहरु पनि आफ्नोतिर पारि नेपाली भूमिमा तारबार गरेको भेटिएको पत्रकार सम्मेलनमा उनले बताए । उनले सरकारले दुबै देशका सीमा विज्ञ र स्थानीयको उपस्थितिमा तत्काल अध्ययन तथा अनुगमन गर्नुपर्ने माग पनि राखेका छन । शाहीको टोली असोज १४ गते सिमकोटबाट सीमा अवलोकनका लागि गएको थियो ।