६ बैशाख २०८१, बिहीबार
Follow Us

मुख्यमन्त्री शाहीमाथिको राजनीतिक संकट टर्‍यो

नेपालब्रिटेन संवाददाता
२७ आश्विन २०७७, मंगलवार ०८:३६

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथिको राजनीतिक संकट तत्कालका लागि टरेको छ । मुख्य मन्त्रीलाई हटाउने योजनामा हस्ताक्षर गरेका नेकपाका भित्रका माधव नेपाल समूह पछि हटेपछि तत्कालका लागि संकट टरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको दूत बनेर गएका केन्द्रीय सदस्य नीरज आचार्यले अविश्वास प्रस्तावको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन सांसदहरुलाई मनाएका थिए । आइतबार मुख्यमन्त्री शाहीलाई नेकपा प्रदेश संसदीय दलको नेताबाट हटाउन भन्दै बरिष्ठ नेता माधव नेपालसमूहका सातजना प्रदेश सदस्यले अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङले ओली पक्षका सांसदलाई हस्ताक्षर फिर्ता लिन टेलिफोन मार्फत आग्रह गरेका थिए । यद्यपि ओली पक्षीय प्रदेश सदस्यहरुले भने हस्ताक्षर फिर्ता लिन आनाकानी गरिरहेका छन् ।

नेपाल पक्षीय प्रदेश सभा सदस्यहरु भने हस्ताक्षर फिर्ता लिन सहमत भइसकेको एक प्रदेश सदस्यले जानकारी दिए । नेपाल पक्षका सांसदहरु आज असन्तुष्ट पक्षले बोलाएको संसदीय दलको बैठकमा समेत सहभागी भएनन् ।

शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि अध्यक्ष पुष्पकमल दाहालले नेता माधवकुमार नेपाल र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका थिए ।

दाहाललले नेता नेपालसँग भेटेर कुरा गरेपछि नेपालले नेकपाका केन्द्रीय सदस्य नीरज आचार्यलाई समस्या समाधान गर्न सुर्खेत पठाएका थिए । नेता आचार्यले सुर्खेत पुगेर हस्ताक्षरकर्ता नेता नेपाल पक्षधरका सांसदहरूसँग छलफल गरेका थिए ।